दुई लाख ५० हजार अनुमतिपत्र कहिले बन्ने



यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो । देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै सङ्ख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो सङ्ख्या अहिले ह्वात्तै बढेको विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताउनुभयो ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै यातायात कार्यालयहरुले सेवा दिएका थिएनन् । गत असारमा कार्यालय खुले पनि बन्दाबन्दी पूरै नखुलेकाले त्यो समयमा धेरै सेवाग्राही कार्यालय जान सकेका थिएनन् । सो अवधिमा नवीकरणका लागि केही समय थपिएको उहाँले बताउनुभयो । कार्यालयहरुले गत पुस २९ देखि नवीकरण पुनः सञ्चालन गरेपछि एकै पटक धेरै अनुमतिपत्र छाप्नुपर्ने भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ र नवीकरण छाप्नुपर्ने धेरै छ ।” विगत वर्षहरुमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न बाँकी भए पनि गत वर्ष विभागले बाँकी रहेका सबै अनुमतिपत्र छापिसकेको थियो । बन्दाबन्दीको अवधिमा एक दिनमा तीन चरण गरेर छपाइ गरिएको सूचना प्रविधि निर्देशक डङ्गोलले बताउनुभयो । विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म २० लाख १९ हजारभन्दा बढी छपाइ भइसकेको छ ।

विभागले अहिले अनलाइन माध्यमबाट मात्रै फारम लिइरहेको उहाँले बताउनुभयो । सेवाग्राहीले जुनसुकै स्थान र समयमा फारम भर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । गत पुसमा सेवा पुनः शुरु गर्दा विभागले निश्चित समयमा मात्रै फारम भर्न सक्ने व्यवस्था गरेको थियो । एकै पटक धेरैले अहिले भर्न खोज्दा समस्या आएपछि जुनसुकै समयमा खुल्ला गरिएको हो । उहाँले भन्नुभयो, “लामो समय रोकिएको सेवा एकै पटक खोल्दा पहिले पहिले चौबिस घण्टा हुँदा पनि समस्या थियो, अहिले त्यो हटिसकेको छ ।” नयाँ अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीमध्ये झण्डै ३० प्रतिशत पास हुने गरेको पाइएको छ । अहिले पनि साढे चार लाखले भरेकामा तीमध्ये आधाभन्दा कम मात्रै पास हुने अनुमान गरिएको छ । विभागमा छाप्नुपर्ने आवेदन बढिरहँदा छपाइ भने हुन सकिरहेको छैन ।

सरकारले १४ लाख कार्ड छपाइका लागि प्रक्रिया अघि बढाएको छ । त्यो आइनपुगेकाले अत्यावश्यक अनुमतिपत्र मात्रै छापिरहेको हो ।

Comments Box