बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ



गलकोट, ८ चैत (रासस)-कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ ।

रोट्रयाक्ट क्लबले सुरु गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँ भकुण्डेको प्रचारका लागि बागलुङ बजारदेखि बराहतालसम्म हाइकिङ गर्दै ।
तस्वीर: खेमराज गौतम, रासस

समाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

“कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएको हो”, शर्माले भन्नुभयो “जिल्लाकै पहिलो ग्रामीण पर्यटनको केन्द्रको रुपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ ।” दुई घण्टाको पैदलयात्रामा बराहताल पुगेको हाइकिङमा सहभागी सुस्मिता केसीले जानकारी दिनुभयो ।

उहाँले बजार नजिकै रमणीयस्थान हेदै पदयात्रा गर्दा निकै आनन्द भएको बताउनुभयो । शर्माले हाइकिङपछि भकुण्डे पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा रहेको जनाउनुभयो । भकुण्डेको बराह ताल, दृश्यावलोकन स्तम्भ तथा मनोरम दृश्य र जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले यसलाई हाइकिङको रुटका रुपमा विकास गर्न आवश्यक रहेको हाइकिङमा सहभागी सौरभ केसीले जानकारी दिनुभयो ।

यही चैत १२ गतेसम्म विभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह सञ्चालन गरेको क्लबले जिल्लाको पर्यटन प्रवद्र्धन गर्नका लागि हाइकिङ गरेको हो । क्लबका अध्यक्ष शर्माको नेतृत्वमा २१ जनाको समूह उक्त एक दिनको पदयात्रामा सहभागी भएको क्लबले जनाएको छ । भकुण्डेमा स्थानीय उत्पादनबाट बनेको खाना तथा आतिथ्यताका लागि घरबाससमेत सञ्चालनमा रहेको छ । साताव्यापी रुपमा हुने कार्यक्रमअन्तर्गत तेस्रो दिन आज बानपा– ४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभूत विद्यालयमा फस्टएड बक्स वितरण गरिने सप्ताहका मूल संयोजक सौरभ केसीले जानकारी दिनुभयो ।

त्यसैगरी चैत ९ गते नेपाल पत्रकार महासङ्घ बागलुङ र रोट्र्याक्ट क्लब अफ बागलुङकाबीचमा मैत्रीपूर्ण फुटसल, १० गते बोर्ड व्यस्थापन, ११ गते दुर्घटना न्यूनीकरणका लागि सहयोग पुर्‍याउन मोटरसाइकल र स्कुटरमा सन्देशमूलक स्टिकर टाँस गर्ने र १२ गते छात्रवृत्ति वितरणसहित समापन गरिने केसीले जानकारी दिनुभयो ।

चमेरे गुफामा आन्तरिक पर्यटक

कोरोना महामारीमा थला पर्‍यो पर्यटन क्षेत्र । पर्यटक नै घरमा थन्किएपछि पर्यटकीय क्षेत्रमा झारपातको राज थियो । दुबो पलाउन थालेको थियो, ससाना बिरुवाले मुना हाल्दै थिए । बडीगाड गाउँपालिका–५ मा रहेको चमेरे गुफाले पनि कोरोना महामारीको मार व्यहोर्यो । लामो समय पर्यटक नदेखिएको गुफामा झण्डै एक वर्षको अन्तरालपछि अहिले भने केही पर्यटक देखिन थालेका छन् ।

वडा नं ५ को ग्वालीचौरस्थित सो गुफाको नाम ‘करुण चमेरे गुफा’ राखेर पर्यटकीय गन्तव्य बनाउने गरी अभियान थालिएको थियो । गाउँपालिकाले समुद्री सतहदेखि एक हजार ५३१ मिटरको उचाइमा रहेको गुफा वरपर भौतिक पूर्वाधार विकास गरिरहेको छ । गुफा परिसरमा पूर्वाधार निर्माणसँगै घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् ।

गुफाभित्र विभिन्न प्रजातिका चमेरा रहेकाले गुफाको नाम चमेरे गुफा राखिएको वडाध्यक्ष अर्जुन खरेलले बताउनुभयो । उहाँले गुफामा चार प्रजातिका चमेरा पाइने बताउनुभयो । एक सय ५० मिटरभन्दा लामो यो गुफा पछिल्लो पटक भएका केही प्रचार र प्रयासले चर्चामा आउन थालेको छ । कोरोना महामारीपछि यो गुफामा बिस्तारै आन्तरिक पर्यटक देखिन थालेका छन् । लामो प्राकृतिक गुफा र त्यहाँभित्र रहेका मनोरम दृष्यले पर्यटकको मन लोभ्याउने गरेको छ ।

 

मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले सो गुफा गाउँपालिकाको पर्यटनको मुख्य आधार हो । चमेरे गुफाका लागि गाउँपालिकाले रु ४० लाख खर्चेको थियो । त्यसको उपलब्धि विस्तारै देखिन थालेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा बताउनुभयो ।

पछिल्लोपटक चमेरे गुफामा गण्डकी प्रदेश सरकारको समेत आँखा पुगेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पूर्वाधार बनाउन भनेर रु २० लाख लगानी गरेको छ ।

–––

Comments Box