मानुङकोटमा लगानीकर्ताको आर्कषण बढ्दै



सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको हो । दैनिक सयौँ पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीले ठूलो रकम लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्वीमीङ पुलसहित रिसोर्ट बनाउन निजीस्तरबाट अर्बौ लगानी गर्न चासो देखाउन थालेका छन् ।

रु चार अर्बको एक प्रस्ताव स्वीकृत भएको र विस्तृत परियोजना प्रतिवेदन आउने तयारीमा रहेको व्यास नगर पालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले मानुङकोटमा रु चार अर्बको लगानी गर्न तयार रहेको भनी प्रस्ताव पेश गरेकोमा स्वीकृत गरिएको उहाँले बताउनुभयो । लगानीकर्तालाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारी ऐन पारित गरी सहज वातावरण बनाइएको नगरपालिकाले जनाएको छ । यस ऐनको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह गरी मुलुकको बृहत सामाजिक तथा आर्थिक विकास गर्न सहज भएको छ । नगरप्रमुख न्यौपानेले भन्नुभयो, “सर्वसाधारणलाई भरपर्दो र सर्वसुलभ रुपमा सेवा सुविधा उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न ऐन निर्माण गरिएको हो ।” कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डिपीआर) का लागि स्वीकृत प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले पाटनबाट मानुङकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव गरेको छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र ४० रोपनी जमीन भाडामा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव पेश गरेको बताइएको छ ।

प्रस्ताव निश्चित अवधिको लागि सम्झौता गर्ने र वार्षिक रुपमा सार्वजानिक जग्गाको भाडा र कर लिने व्यवस्था मिलाइएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणले देशका अन्य ठाउँमा चहलपहल कम भए पनि यहाँ भने विगतभन्दा बढी आन्तरिक पर्यटक भित्रिएका छन् । यहाँको मुख्य दृश्य सूर्योदय र सूर्यास्त छ । त्यसैगरी मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायत अधिकांश हिमशृङ्खला देखिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई धार्मिक प्रसङ्गसँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षी व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइ दिएको प्रसङ्ग उल्लेख छ ।

उक्त स्थानबाट कास्की, गोरखा, सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम र निर्माणस्थल लगायतको मनोरम ठाउँ देखिन्छ । मानुङकोटको चर्चा जताततै हुन थालेपछि पर्यटन व्यवसायीको ध्यान तानिएकाले ठूला लगानीकर्ता भित्रिन लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । सामाजिक सञ्जालमा मानुङकोटका सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ति देखिन थालेका छन् । भिडियो बनाउनेको जमात पनि बाक्लिएकोले पर्यटन व्यवसायी ठूलो लगानी गर्न आतुर देखिएका छन् ।

पर्यटन प्रवद्र्धन गर्न खेलकूद

व्यास नगरपालिका कार्यालयले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मानुङकोटमा वर्षेनी म्याराथनको आयोजना गर्दै आएको छ । शहीद दिवसको दिनमा मानुङकोटबाट पुलिमराङसम्म म्याराथन दौड प्रतियोगिता गर्दै आएको हो ।

त्यसैगरी अन्तरराष्ट्रिय नारी दिवसको दिन दमौलीको व्यासगुफाबाट तनहुँसुरसम्मको दूरीमा महिला खुल्ला हाफ म्याराथन यसै वर्षदेखि शुरु गरिसकेको छ । खेलकूदको संरक्षण गर्दै धार्मिक, ऐतिहासिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्न थालेको छ ।

Comments Box