बङ्गुर पाल्न बाध्य भलिबलका राष्ट्रिय खेलाडी



“साथीभाइसँग रमाइलो, खेलप्रेमीको मायाले मात्र जीवन चलाउन सकिँदोरहेनछ। जीवनको ऊर्जावान् समय खेलकूदमा बिताए पनि अहिले खेलकूद छोडेर व्यावसायिक पशुपालनमा जोडिएको  हुँ।”

 

भजनी, ६ चैत (रासस)- जानकी गाउँपालिका–९ खैरीफाँटाका शिवराज भाटको नाम भलिबलमा चर्चित छ। उहाँ सुदूरपश्चिमा सो खेलमा सुपरिचित हुनुहुन्छ। खेल पेशाबाट स्थापित हुनुभएका उहाँ खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा लाग्नु भएको छ।

पशुपंक्षीलाई आहार खुवाउँदै भलिबल पूर्व राष्ट्रिय खेलाडी शिवराज भाट। तस्वीरः झलनाथ खनाल, रासस

उहाँले स्थानीयदेखि स्तरका थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाउने अवसर पाउनुभयो भने अधिकांश प्रतियोगिताको उपाधिसमेत हात पार्न सफल हुनुभयो। विसं २०५८ देखि भलिबल खेललाई व्यावसायिक खेलको रुपमा लैजाने उद्देश्य लिएका उहाँ खेलकूदमा सफल हुन भने सक्नुभएन।  प्रतियोगितामा आफूले राम्रो सम्मान पाएको उहाँ बताउनुहुन्छ। “मैले खेल क्षेत्रमा कहिल्यै घमण्ड गरिन। त्यसको परिणाम राष्ट्रिय खेलाडीको रुपमा पनि थुप्रै खेल पनि खेल्ने अवसर पाएँ।” उहाँले  भन्नुभयो, “साथीभाइसँग रमाइलो, खेलप्रेमीको मायाले मात्र जीवन चलाउन सकिँदोरहेनछ। जीवनको ऊर्जावान् समय खेलकूदमा बिताए पनि अहिले खेलकूद छोडेर व्यावसायिक पशुपालनमा जोडिएको  हुँ।”

उहाँ भलिबलमात्र नभई फुटबलको पनि राम्रो खेलाडी हुँ। सुदूरपश्चिमस्तरीय फुटबल प्रतियोगिता खेल्नुभएका उहाँको हात र औला भाँच्नुपर्‍यो। “खेलकूदमै लागेर डोटीमा भएको प्रतियोगितामा मेरो खुट्टामा समस्या देखिएको थियो। डाक्टरले अप्रेशन गर्नुपर्ने भने पनि खर्च बढी लाग्ने भएकाले अप्रेशन गर्न सकेको छैन।” उहाँले भन्नुभयो, “खेलकूद क्षेत्रमा लागेर अहिले त्यो दुःख देख्दा आफूलाई पछुतो लाग्छ। एक खेलाडीले आफ्नो उपचार गर्नसक्ने अवस्था अझै बन्न सकेको छ। सरकारले खेलाडीप्रति हेर्ने दृष्टिकोण अझै फेरिएको छैन।”

विसं २०७७ फागुन १० गते अरुण युवा क्लब खैरीफाँटाले आयोजना गरेको खुला भलिबल प्रतियोगिताबाट उहाँले भलिबल खेल जीवनबाट सन्यास लिसक्नुभएको छ। उहाँले खेलकूदसँगै व्यवसाय शुरु गर्नुभएको थियो। तीन वर्षदेखि व्यावसायिक बङ्गुरपालन शुरु गर्नुभएका शिवले अहिले लोकल कुखुरा र कडकनाथको व्यवसाय पनि शुरु गर्नुभएको छ। “मैले टर्की, लौकटको व्यवसाय पनि गरेको थिएँ। कोरोनाका कारण भएको बन्दाबन्दीको बेला मासुको अभाव हुँदा सबै बिक्री भए।” शिवले शिवले भन्नुभयो, “सबै परिवार यही व्यवसायमा छौँ। मैले व्यवसायसँगै शिक्षण पेशालाई पनि सँगै अगाडि बढाएको छु।” जानकी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय अमरावती र अरुर्णोदय माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ। विद्यालयमा अध्यापनमात्र नभई खेल शिक्षकको रुपमा पनि काम गर्दै आएका शिवले रारा फाउण्डेशनले किशोरीका लागि खैरीफाँटामा शुरु गरेको फुटबल प्रशिक्षकको रुपमा शुक्रबार र शनिबार काम गर्दै आएको बताउनुभएको छ। “आफ्नो क्षमताले काम गर्नसके कसैले पनि पछाडि फर्केर हेर्नू पर्दैन।” उहाँले भन्नुभयो, “अब मलाई कुनै कुराको अपुग छजस्तो लाग्दैन। आफ्नो क्षमताले भ्याएको सबै गरेको छु। परिवारको राम्रो साथ छ।”

रु छ लाख लगानी गरेर व्यवसाय शुरु गर्नुभएका उहाँ गाउँकै एक नमूना व्यावसायिकको रुपमा स्थापित हुनुभएको छ। उहाँले युवालाई राज्यको  खेलक्षेत्रमा स्पष्ट नीति नआएसम्म पूरै समय खेलमा व्यतीत नगर्न आग्रह गर्नुभयो। उहाँले आफूले मात्र नभई आफ्नै भाइलाई पनि खेलकूदमै आकर्षित गराउँदा अहिले त्यसको परिणाम आएको बताउनुभयो। “मेरै  प्रशिक्षणबाट स्थापित खेलाडी बनेको कान्छो भाइ नरेश भाट अहिले वैदेशिक रोजगारीमा होमिनुपरेको छ। खेलकूदलाई व्यवसायीकरण गर्न नसकिएसम्म खेल क्षेत्रबाट कसैको भविष्य सुनिश्चित छ जस्तो लाग्दैन।” उहाँले भन्नुभयो, “शरीरमा ऊर्जा रहँदासम्म खेलाडी बन्ने हो भने बाँकी जीवन जीउन र परिवार चलाउन कसको सहारा लिने ?”

–––

Comments Box