नेपाल–इजरायल सम्बन्धका ६ दशक



परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारीस्तरमा नेपाल र इजरायलबीच शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि, खेलकूद, ऊर्जा, क्षमता अभिवृद्धि, स्वास्थ्य तथा चिकित्सालगायत क्षेत्रमा थप सहयोग प्रवद्र्धनको प्रयास भइरहेको बताउँनुभएको छ । उहाँले विश्व मानचित्रमा संसारकै उच्च शिखर सगरमाथाको राष्ट्र नेपाल र समुद्री सतहबाट सबैभन्दा तल रहेको मृतसागरको देश इजरायल पारस्परिक पर्यटन विकासका निम्ति अद्वितीय गन्तव्य हुन् भन्नुभएको छ ।

कूटनीतिक संवाद केन्द्रले बिहीबार राजधानीमा आयोजना गरेको ‘नेपाल–इजरायल सम्बन्धका छ दशक’ विषयका कार्याशालाको उद्घाटन गर्दै उहाँले द्विपक्षीय सम्बन्ध निरन्तर विस्तार भइरहेको तथा रोजगारी, मानव संशाधन विकास, शिक्षा, कृषि विकास सहायता, प्रविधि हस्तान्तरणसहित आपसी हितका विविध क्षेत्रमा सहकार्य र साझेदारी जारी रहेको बताउनुभयो । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत द्विदेशीय सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै उहाँले शान्तिप्रिय मुलुक नेपालले मध्यपूर्वमा सधैँ दिगो शान्ति र स्थायित्व चाहेको बताउनुभयो । “समस्या जतिसुकै जटिल भए पनि त्यसलाई संवादका माध्यमबाट गरिने समाधानको प्रयासलाई नेपालले सदैव स्वागत गर्नेछ”, परराष्ट्रमन्त्रीले भन्नुभयो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का पूर्व महासचिव अर्जुनबहादुर थापाले नेपाल–इजरायल सम्बन्धलाई द्विपक्षीय तहमा मात्र नभई बहुपक्षीय तहमा पनि बृहत् रुपमा विस्तार गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले कूटनीतिको प्रभावकारी सञ्चालनबाट द्विदेशीय सम्बन्धलाई अझ सशक्त र सुदृढ तुल्याउन सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका भूतपूर्व स्थायी प्रतिनिधि जयराज आचार्यले छ दशकअघि नै नयाँ देशका रुपमा इजरायललाई मान्यता दिने पहिलो राष्ट्र नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा साझेदारी र सहकार्य गर्दै उक्त देशका चासो एवं संवेदनशीलतालाई कूटनीतिक तहबाटै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

इजरायलसँग सम्बन्धित अन्तरराष्ट्रिय चासोका विषयमा न्युयोर्क र जेनेभामा सन् २०१२ देखि २०२० सम्म पेश गरिएका २६वटा प्रस्तावमध्ये २३ वटाका विपक्षमा नेपालले मतदान गरेको तथ्याङ्क कार्यशालामा प्रस्तुत गरिएको थियो । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले कठिन अवस्थामा आफ्नो मुलुकलाई मान्यता दिएर नेपालले ठूलो गुन लगाएको र त्यसलाई इजरायल सरकार र त्यहाँका जनताले कहिल्यै नबिर्सने बताउँदै संयुक्त राष्ट्रसङ्घीय निकायमा नेपालबाट हुने मतदानको पद्धतिमा पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गर्नुभयो ।

कार्यशाला आयोजक संस्थाका अध्यक्ष शम्भु पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा सलोम क्लबका अध्यक्ष प्रा भीमप्रसाद श्रेष्ठ, इजरायली दूतावासका नियोग उपप्रमुख ताल शाभर्टस्मान, सञ्चार विश्लेषक सन्तोष साहलगायतले नेपाल–इजरायल सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

Comments Box