आफ्नो पारिश्रमिक बाँड्दै हिड्ने वडाध्यक्ष



हेटौँडा-हेटौँडा  उपमहानगर–५ का वडाध्यक्ष राजेश बानियाँले आफ्नो सेवा सुविधावापतको रकमबाट केही रकम  सामुदायिक विद्यालयलाई सहयोग गर्नुभएको  छ । आफ्नो वडाभित्रमा रहेको लक्ष्मी आधारभूत विद्यालय र बालज्योति माध्यमिक विद्यालयलाई तत्कालका लागि फागुन महिनाको प्राप्त  पारिश्रमिक रु २८ हजार ७१० प्रदान गरेका हुन्।

उपमहानगरबाट फागुन महिनाको प्राप्त पारिश्रमिक रकममध्ये बालज्योतिलाई रु २० हजार र लक्ष्मी आधारभूतलाई अरु रु आठ हजार ७१० प्रदान गरिएको वडाध्यक्ष बानियाँले बताउनुभयो। बालज्योति माविका प्रअ भरतप्रसाद अर्यालले प्राप्त रकम विद्यालयमा रहेका न्यूनदृष्टियुक्त विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री, सङ्गीतका सामग्री र शिक्षकमा खर्च गरिने जानकारी दिनुभयो । सो विद्यालयमा  ७ देखि २१ वर्ष उमेर समूहका १७ जना न्यूनदृष्टियुक्त विद्यार्थीलाई अध्यापन गराउँदै आएको प्रअ अर्यालले बताउनुभयो।

त्यस्तै, प्राप्त रकम नर्सरी र केजीका विद्यार्थीको शैक्षिक गुणस्तरका लागि खर्च गरिने लक्ष्मी आधारभूत विद्यालयका प्रअ रामहरि मैनालीले बताउनुभयो। वडाध्यक्ष बानियाँले यसअघि वडाभित्रका ६२ घरपरिवारका सदस्यलाई रु एक लाख ५६ हजारको स्वास्थ्य बीमा गरिदिनुभएको छ।

चुनावी बेलामा सरकारबाट प्राप्त सेवा सामाजिक सेवामा खर्च गरिने भनी प्रतिबद्धता अनुरुप माघ महिनासम्मको रकम विभिन्न सामाजिक सेवामा खर्च गरिएको र फागुन महिनाबाट वडाका दुई सामुदायिक विद्यालयलाई प्रदान गरिने वडाध्यक्ष बानियाँले बताउनुभयो । उहाँले आफ्नो स्व बुबा वीरेन्द्रबहादुर बानियाँको स्मृतिमा सामुदायिक प्रहरी सेवा पशुपतिनगरलाई एम्बुलेन्स खरीद गरी प्रदान गर्ने तयारी गर्नुभएको छ। सङ्घ संस्थालाई मात्र होइन व्यक्तिलाईसमेत वडाध्यक्ष बानियाँ विभिन्न सहयोग गर्दै आउनुभएको छ। उहाँले व्यक्तिगत खर्चमा बालज्योति विद्यालयलाई भवन निर्माणका लागि रु १५ लाख सहयोग पनि गरेका छन्।

Comments Box