खेलमैदान मासेर मञ्च



दमौली, ४ चैत (रासस)- व्यास नगरपालिका–३ मा रहेको खेलमैदानमा विगतमा धेरै फुटबल प्रतियोगिता हुन्थे । दमौली अस्पताल अगाडि रहेको खेलमैदानमा हुने फुटबलको छुट्टै रौनकता हुन्थ्यो । नगरपालिकाले खेलमैदानलाई पार्क बनाउने भनेपछि यस ठाउँमा खेल हुन छाड्यो । यसको विकल्पमा नगरपालिकाले बिपी वनबाटिकालाई खेलमैदान बनाउने गरी बजेटसमेत विनियोजन गरेर काम अगाडि बढायो ।

उक्त मैदानलाई रङ्गशाला बनाउने भन्दै विनियोजित बजेटले मैदान सम्याउने र पर्खाल बनाउने काम भएको छ । १०८ फिटको ब्यासमूर्ति बन्ने भएपछि बिपी वनबाटिकाको खेलमैदान पनि के हुने भन्ने अन्योल कायमै छ । यद्यपि नगरपालिकाले बिपी वनबाटिकामा रहेको कभर्डहल पनि अन्यत्रै सारेर त्यहाँ खेलमैदान नै बनाउने जानकारी दिएको थियो । ब्यास मूर्तिलगायतका संरचना बन्ने भएपछि यहाँ दैनिक सयौंकौ सङ्ख्यामा सर्वसाधारण आउने निश्चित छ । त्यसका लागि बिपी वनबाटिकाको खेलमैदानलाई पार्किङस्थल बनाउनुपर्ने आवाज उठिरहेको छ ।

खुल्लामैदानमा खेल हुन छाडेपनि उक्त ठाउँ खेलाडीले प्रशिक्षण गर्ने थलोको रूपमा विकास भइरहेको छ । तर अब खेलाडीलाई त्यो अवसर पनि प्राप्त नहुने भएको छ । खुल्ला मैदानमा ब्यास नगरपालिकाले मञ्च बनाउने तयारी गरेको छ । त्यसका लागि मङ्गलबारबाट काम शुरु भइसकेको छ । मञ्च निर्माणका लागि खाल्डो खन्ने काम अगाडि बढेको छ ।

खेलमैदान मासेर मञ्च बनाउन लागेपछि विरोधकास्वर सुनिन थालेको छ । खेलाडी एवं रेफ्री ईन्द्र गुरुङले खेलमैदानमा मञ्च निर्माण शुरु गरिएपछि विरोध जनाउनुभएको छ । “व्यवस्थित खेलमैदानको अभावमा जसोतसो खेल सिक्दै आएका खेलाडीको एकमात्र खेल्ने मैदान पनि अब स्वाहा हुने भयो,” गुरुङले भन्नुभयो ।

खेलमैदान मासेर कङ्क्रिट संरचना निर्माण गर्ने तयारीपछि नगरवासीले विरोध जनाएका छन् । वृद्धवृद्धालाई मर्निङवाक गर्ने थलोको रूपमा रहेको यस ठाउँलाई अहिलेकै अवस्थामा राख्नुपर्ने नगरवासीको माग छ । भूकम्पको बेला खुला मैदानले दमौलीवासीलाई पु¥याएको सुविधा भुल्न हुने उनीहरूको भनाइ छ । नगरपालिकाले भने उक्त ठाउँमा पार्क निर्माण गर्ने तयारी गरेको बताएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले खेलमैदानमा स्मार्ट पार्क बनाउन लागिएको बताउनुभयो ।

Comments Box