कुचोको मूल्य किन बढ्यो तीनगुणा ? अम्रिसो किसानचाहिँ खुशी



 –देवेन्द्र कार्की/धरान, १ चैत (रासस)

पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रुपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष उच्च भएको छ। अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य पनि आकासिएको बताइएको छ। विगतमा प्रतिवटा रु ४० का दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा रु १०० देखि १३० सम्म बिक्री भइरहेको पाइएको छ।

 अम्रिसो कुचोको मूल्य गत वर्षको तुलनामा तीनगुणा बढेको सुनसरी धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो। उहाँले गएको वर्षमा रु ४० का दरले बिक्री गर्न पनि कठिनाइ भएकामा अहिले मूल्य बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “अम्रिसो कुचो भारतीय मजदूरले प्याक गरेर भारत लाने गरेका छन्, नेपाली बजारमा १० प्रतिशत मात्र बिक्री हुने अम्रिसो कुचोको ठूलो बजार भारत हो। अहिले भारततर्फ कम्तीमा पनि ९० प्रतिशत अम्रिसो निर्यात भएको छ।”

 पहिले विदेश त्यति निर्यात नहुने गरेको अम्रिसो केही वर्ष यतादेखि भारतीय बजारमा माग बढ्दा यता नेपाली बजारमा मूल्य बढेको बताइएको हो। सामान्य पाखो जमीनमा उत्पादन हुने अम्रिसो कुचोको भाउ यस वर्ष सोचेभन्दा उच्च भएपछि कृषक भने खुशी भएका छन्। कतिपय किसान अम्रिसो खेतीमा लाग्न थालेका छन्।

पूर्वी नेपालको पहाड तथा तराईका जिल्लामा रहेका सुनसरी, मोरङ्ग र झापाको उत्तरी क्षेत्रका किसानहरुले लगाईने अम्लिसो खेतबाट उत्पादन हुने कुचोको करोडौको कारोवार हुने गरेको धरानको कृषि उपज बजार स्थल। तस्बिर: रासस

 धरान–२० विष्णुपादुकाको तामाखाममा करीब पाँच बिघा जग्गाको पाखो भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राई यो वर्ष मूल्य राम्रो पाउँदा खुशी हुनुभएको छ। “यसमा हाम्रो केही मेहनत हुँदैन। एक पटक रोपेपछि धेरै वर्षसम्म केही गर्नुपर्दैन। पाखा बारीमा लगाएको अम्रिसोले राम्रै आम्दानी गर्‍यो”, कृषक राईले भन्नुभयो। एकपटक रोपेपछि करीब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लगाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ। भाउ बढ्यो भने फाइदैफाइदा छ। यो वर्ष कुचोको भाउ बढेकाले कृषक निराश हुनु नपरेको कुचो व्यवसायी बिनोद कुलुङ बताउनुहुन्छ।

 विनोद कुलुङ, दीपक साहलगायतले धरानको कृषिउपज बजारमा कुचो बिक्री गर्दै आउनुभएको छ। उहाँहरुले कृषकबाट अम्रिसो सङ्कलन गरेर भारतीय बजारमा पठाउने गर्नुभएको छ। अहिले भारतीय बजारमा यसको निर्यात बढ्न थालेपछि धेरै किसान तथा व्यवसायी अम्रिसोको उत्पादन व्यवसायमा लागेका पाइएको छ।

 कृषिउपज बजारका व्यवस्थापक भट्टराईका अनुसार चालू आर्थिक वर्षको फागुनको पहिलो सातासम्ममा चार हजार ५०० मेट्रिकटन अम्रिसो कुचोको कारोवार भएको छ। हालकै मूल्य कायम रहे रु ५६ करोडभन्दा बढीको आम्दानी हुने बजारले अनुमान गरेको छ। कुचो चैत र वैशाखसम्म बिक्री हुन्छ। गत वर्ष तीन हजार ६९९ मेट्रिकटन कुचो बिक्री हुँदा रु १५ करोड मात्र आम्दानी भएको थियो।

 कुचोको मुख्य याम माघबाट शुरु भई वैशाखसम्म आउने गर्छ। नेपालमा उत्पादन भएकामध्ये १० प्रतिशत मात्र यहाँ खपत हुने गरेको कृषिउपज बजारको अध्ययन छ। अम्रिसो व्यवसायी विनोद राईले फागुन पहिलो सातासम्ममा करीब १० टन अम्रिसोको कारोवार भएको बताउनुभयो। यो वर्ष उहाँले मात्र रु १३ लाखको कारोवार भएको जानकारी दिनुभयो।

 सामुदायिक वन क्षेत्र वा निजी जग्गामा रोपिएको अम्रिसो खेतीबाट किसानले वार्षिकरूपमा लाखौँको आम्दानी गर्ने गरेका छन्। सामुदायिक वन क्षेत्रको नाङ्गो डाँडा र आफ्नो बारीलाई सदुपयोग गर्दै यो खेतीलाई आम्दानीको मुख्य स्रोत कृषकले बनाएका छन्। अम्रिसो खेतीमा कम लगानी, कम मेहनत र बढी आम्दानी हुने स्रोत हो।

अम्रिसोको फूलबाट कुचो प्रयोग गर्न सकिने र अर्कातर्फ पात खुवाउँदा गाई भैँसीको दूध बढ्ने किसानको भनाइ छ। “गाईबस्तुका लागि पोसिलो घाँस मानिन्छ”, कटारी नगरपालिका– १३ की सावित्री राउत भन्नुहुन्छ, “फूलको कुचो बनाएर बिक्री गर्दा घर खर्च टर्ने पैसा कमाउन सकिन्छ। परिवारलाई पालन–पोषण, शिक्षादीक्षा दिन र चाडपर्वमा खर्च गर्नसमेत अम्रिसोबाट आम्दानी भएको छ।”

 अम्रिसोको फूल तयार हुने बेला व्यापारी गाउँघरमै पुग्ने भएकाले बिक्रीका लागि किसानलाई सजिलोसमेत भएको छ। अम्रिसो कुचोका लागि मात्र नभएर अम्रिसो पर्यटकको आकर्षण पनि बन्न थालेको छ। इलामको निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउँदै आएको छ। अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ। पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको स्थानीय बताउँछन्। यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ।

इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ। व्यावसायिक अम्रिसोखेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिसाथ अम्रिसोको बगानमा पुग्ने गरेको स्थानीय बताउँछन्। दैनिक चारदेखि २० वटा समूहसम्मका पर्यटक काउलेडाँडा पुग्ने गरेका छन्। हिमाली सुन्दर दृश्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पुयाउन सफल बनेको छ।

 डाँडाको वन क्षेत्रको अम्रिसोखेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीय बासिन्दालाई अम्रिसोको फूलबाट दुईचार पैसा हात पनि परेको छ। अम्रिसो खेतीपछि गाईभैँसी पालनप्रति आकर्षण बढ्दो छ। अम्रिसोको पात घाँसका रुपमा प्रयोग हुन्छ। डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीयवासीको भनाइ छ। अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ।

 पूर्वी नेपालका पहाडी धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरीक्षेत्रमा उत्पादित कुचो धरानमा सङ्कलन हुन्छ। अम्रिसो कृषकबाट जस्ताको त्यस्तै कच्चा मालको रुपमा थोक मूल्यमा खरीद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरेपछि त्यहाँका व्यापारीहरुले थप ब्राण्डिङ, प्याकेजिङ गर्ने र ५० किलोका बण्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको कृषि उपज बजारका व्यवस्थापक भट्टराई बताउनुहुन्छ।

 भारत निर्यात भएपछि बण्डलबाट अम्रिसोको स्टिक झिकेर सानो–सानो मुठाको कुचो बनाएर उपभोक्ताको घरसम्म पुर्‍याउने गरिन्छ। त्यसको मूल्य दोब्बर हुने व्यवसायी बताउँछन्। बजार व्यवस्थापक भट्टराईले भन्नुभयो, “नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने हो भने वार्षिक अर्बौं रुपैयाँको कुचो भारत निर्यात गर्न सकिन्छ। तर त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नु जरुरी छ।”

नेपालको भौगोलिक बनावटअनुसार अम्रिसो कुचो खेती गर्ने प्रशस्त ठाउँ रहेको छ। पहाडी क्षेत्रमा यस कुचोको राम्रो उत्पादन हुने गरेको छ। तर भारतीय बजारमा यसको माग अधिक भएको सूचना नपाउँदा कृषकले उत्पादन गरेको कुचो त्यत्तिकै खेर गएको छ। उत्पादन भएको अम्रिसो कुचोलाई ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने काम नेपालमा व्यवस्थापन गर्ने हो भने यसले राम्रो आम्दानी नेपाल भित्र्याउन सकिने व्यापारीहरु बताउनुहुन्छ।

नेपाली अम्रिसो भारतको पश्चिम बङ्गाल, गुजरात, राजस्थान, पञ्जाब, बेंगलोर, दिल्ली, आन्द्र प्रदेशलगायत राज्यमा जाने गरेको छ । आर्थिक वर्ष ०७४/७५ मा पूर्वी नाका हुँदै रु ४२ करोड २६ लाख ५६ हजारको १३ हजार २०८ टन अम्रिसो निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कमा देखिएको छ।

विकिपिडियाका अनुसार अम्रिसोलाई लामो डाँठ हुने एक प्रकारको घाँस भनेको छ। यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रशस्त पाइन्छ। अम्रिसो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ। ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकको मुख्य आम्दानीको एक स्रोतमध्ये पर्ने गरेको छ। बनस्पति जगतको फूल फुल्ने प्रजातिअन्तर्गत अम्रिसो पर्दछ।

अम्रिसोलाई स्थानीयरूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस मानिन्छ। यस घाँसमा क्याल्सियमको मात्रा प्रशस्त पाइने भएकाले दुधालु पशुमा देखिने गरेका कतिपय रोगको सम्भावना कम हुन्छ। अम्रिसो एकपटक लगाएपछि १०–१५ वर्षसम्म हरियो घाँस दिइरहन सक्दछ। यसको फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईबस्तुको आहाराका रूपमा प्रयोग गरिन्छ।

यसका जरा माटोमा राम्ररी फैलिएर जाने भएकाले भू–संरक्षणका लागि पनि यो उपयुक्त हुन्छ। अम्रिसोको खेती धेरै पहिलोदेखि नेपालका पूर्वी पहाडी क्षेत्रमा गरिँदै आएको पाइए पनि हाल यसको खेती अन्य जिल्लामा पनि बिस्तार भएको पाइन्छ।

–––