लन्डनमा राति एक्लै हिँडेकी युवतीको प्रहरी अधिकारीबाटै अपहरण र हत्या!



एजेन्सी । बेलायतको राजधानी लन्डनमा शनिबार केही महिलाहरू हातमा फूल र मैनबत्ती ल्याएर सडकमा निस्किएका थिए। उनीहरू केही समयअघि अपहरणपछि हत्या गरिएकी ३३ वर्षीय सारा एभरार्डको सम्झनामा भेला भएका थिए। सारा मार्च ३ मा अन्तिम पटक जिवित देखिएको ठाउँमा उनीहरू पुगेका थिए। सारा त्यो रात आफ्ना साथीको फ्लाटबाट घर फर्किँदै थिइन्। त्यही बेला उनी हराइन् र केही दिनपछि उनको शव फेला पर्‍यो।

सारा हराएपछि नै बेलायती महिलाहरूले राति हिँड्दा आफूले भोगेका समस्याबारे चर्चा गर्न थालेका थिए। साराको अपहरण र हत्यामा संलग्न भएको आरोपमा लन्डनको महानगरीय प्रहरीका एक जना अधिकारीलाई पक्राउ गरिएको छ। ४८ वर्षीय वेन कोउजेन्स प्रहरी अधिकारीलाई शनिबार अदालतमा पेश गरिएको थियो। केही दिनदेखि हिरासतमा रहेका उनले अदालतमा घटनाबारे बोलेनन्।

कोउजेन्स अदालतमा उपस्थित भएको केही घन्टापछि सयौं महिलाहरू सारालाई सम्झन भेला भएका थिए। उनीहरूले महिलामाथि हुने दुर्व्यवहारविरूद्धका नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए। प्लेकार्डमा ‘उनी आफ्नो घर गइरहेकी थिइन्’, ‘हामी ९७ प्रतिशत हौं’ लेखिएको थियो। पछिल्लो समय गरिएको एक अध्ययनले लगभग सबै बेलायती महिलाले दुर्व्यवहार भोगेको देखाएको थियो।

भेलामा सहभागी महिलाहरूले अहिले पनि महिलालाई राति एक्लै हिँड्न समस्या हुने र त्यसको समाधानका लागि प्रहरीलगायत राज्यका संरचनाले प्रभावकारी काम नगरेको बताएका थिए।

प्रहरीले भने प्रदर्शनमा आएका महिलाहरूमाथि नै दुर्व्यवहार गरेको छ। कोरोनाभाइरस महामारी रोक्न लगाइएका प्रतिबन्धका कारण यस्ता भेला गर्न नपाइने भन्दै लण्डन प्रहरीले कार्यक्रम गर्न अनुमति नै दिएको थिएन। त्यसका बाबजुद महिलाहरू भेला भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न खोजेको थियो। सहभागीहरूले आफूले मास्क लगाएको र शान्तिपूर्ण रूपमा कार्यक्रम गरेको भन्दै प्रदर्शन जारी राखेका थिए।

त्यसपछि प्रहरीले केहीलाई पक्राउ गरेको थियो।प्रहरीको उक्त कदमको अहिले आलोचना भइरहेको छ। लन्डनका मेयर सदिक खानले प्रहरीको व्यवहार उचित नभएको बताएका छन्।

Comments Box