दुई तिहाई लिएर सिंहदरवार फर्किन्छौं – ओलीकाे चुनौति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गरे ।
अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– २०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छ ।
ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीको भनाइ थियो ।
Comments Box