नेपाल पुलिस क्लबलाई काठमाडौं मेयर कपको उपाधि



काठमाडौं। गुल्सन झाको कसिलो बलिङ तथा सुनिल धमलाको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पुलिस क्लबले फाइनलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) लाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

गुल्सन झाले कसिलो बलिङ गरेपछि टस जितेर ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो। एक सय छ रनको लक्ष्य पुलिस क्लबले २४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।

पुलिस क्लबलाई उपाधि जिताउने क्रममा ओपनर सुनिलले अविजित ५९ रन बनाए। उनले ८२ बलमा सात चौका र दुई छक्का प्रहार गरे। कुशल भुर्तेल र अनिल शाहले समान १५ रन बनाए। दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे।

 

एपीएफका अबिनाश बोहरा र भुवन कार्कीले एक/एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। गुल्सन र सागर ढकालले कसिलो बलिङ गर्दै संयुक्त रूपमा आठ विकेट लिएपछि एपीएफका कप्तान शरदको निर्णय सही सावित हुन सकेन। एपीएफका कुनै ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

गुल्सनले एपीएफको शीर्ष क्रममा ब्याट्सम्यानलाई पवेलियन बाटो देखाए थिए। उनले ओपनर शंकर राना, कप्तान शरद भेषावकर र भुवन कार्कीलाई सुरूमै पवेलियनको बाटो देखाएका थिए। भुवन आउट हुँदा एपीएफ ४२/४ को स्थितिमा थियो।

गुल्सनलाई सागर ढकालले साथ दिएपछि एपीएफका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। एपीएफका लागि बसन्त रेग्मीले सबभन्दा धेरै २२ रन बनाए। सन्दिप जोरा र अमरसिंह राउटेलाले समान १८ रन बनाए। भुवन कार्कीले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गुल्सनले सात ओभरमा ३६ रन दिएर ४ विकेट लिए। सागरले ७.४ ओभरमा २८ रन दिएर चार विकेट लिए। पवन सर्राफ र ललितनारायण राजवंशीको नाममा एक एक विकेट रह्यो।

Comments Box