बेगनास सिँचाइलाई उत्पादनसँग जोड्नुपर्ने



बेगनास जल उपभोक्ता संस्थाको १५ औँ वार्षिक साधारण सभाका अवसरमा बेगनास सिँचाइलाई व्यवस्थित गर्दै उत्पादनसँग जोड्नुपर्नेमा जोड दिइएको छ ।

बेगनास सिँचाइ आयोजनाअन्तर्गत करिब ५८० हेक्टर क्षेत्रफलमा पाँचवटा शाखाबाट वितरित पानी पोखरा महानगरपालिकाका २९, ३०, ३१ र ३२ वडाका विभिन्न क्षेत्रमा किसानले उपभोग गर्दै आएका छन् । पोखरा महानगरपालिकाका विभिन्न वडा क्षेत्रमा सिँचाइ भइरहेको बेगनास सिँचाइलाई व्यवस्थित गर्दै सर्वसाधारणलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै शुक्रबार आयोजित कार्यक्रमका वक्ताले नहर क्षेत्रमा रहेका अनियन्त्रित संरचनालाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका अध्यक्ष दीपक कोइरालाले बेगनास सिँचाइलाई व्यवस्थापन गर्दै उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नहर क्षेत्रका अनियन्त्रित संरचनाको व्यवस्थापन गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्न सकेमा उत्पादनसँगै स्थानीयको आयआर्जनमा समेत वृद्धि गर्न सकिने उहाँले बताउनुभयो । सिँचाइ डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले क्षतविक्षत र अतिक्रमित नहरलाई व्यवस्थित गर्नेतर्फ स्थानीय उपभोक्ता जागरुक बन्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष पुष्पराज भण्डारीले संस्थाका तर्फबाट भइरहेका गतिविधिबारे प्रकाश पार्नुभयो भने कोषाध्यक्ष परशुराम पण्डितले वार्षिक आयव्यय विवरण र सचिव विश्वराज लामिछानेले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवसरमा संस्थाको विकासमा योगदान गर्नुहुने पूर्वअध्यक्ष अक्कलबहादुर कार्की, कर्मचारी जगबहादुर पुनमगर, सदस्य झवबहादुर पुनलाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

Comments Box