उद्यमशीलता पढाउँदै पोखरा विश्वविद्यालय



पोखरा : पोखरा विश्वविद्यालयले नेपालमै पहिलोपटक उद्यमशीलता विकाससम्बन्धी विषय पढाउने भएको छ । स्नातक तहमा ब्याचलर या आन्टरपे्रन्युअरसिप डेभलपमेन्ट (बेड) कार्यक्रम पढाउन उसले भर्नासमेत खोलिसकेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले उक्त कार्यक्रम सार्वजनिक गरे ।

उक्त विषयका पढाइका लागि पोविविले नेपाल सरकारसँग समेत सहकार्य गर्दैछ भने भारत गुजरातको स्वर्णिम विश्वविद्यालयसँग समझदारी हुने भएको छ । भारतमा उद्यमशीलताका शिक्षामा स्वर्णिम विश्वविद्यालय उत्कृष्ट मानिन्छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का प्रकाश शर्माले उद्यमशीलता विषयमा पोविविको कोर्स उत्कृष्ट रहेको बताए। पोखरा विश्वविद्यालयमा ४ संकाय छन् । विराटनगरदेखि महेन्द्रनगरसम्मका कलेजहरुलाई पोविविले सम्बन्धन प्रदान गरेको छ । पोविविकै केन्द्रीय क्याम्पसहरु र अन्तर्गतका कलेजहरुमा गरी ३२ हजार ५ सय ८४ विद्यार्थी रहेको डा थापाले जानकारी दिए । ‘कुल कोटाको २० प्रतिशत छात्रवृत्रि दिएका छौं,’ उनले भने, ‘कलेजहरुले पनि १० प्रतिशत छात्रवृत्ति दिइरहेका छन् ।’ विद्यार्थी संख्याका आधारमा पोविवि त्रिभुवन विश्वविद्यालयपछिको सबैभन्दा ठूलो शैक्षिक संस्था भएको उनले जनाए ।

Comments Box