वैज्ञानिकको वन व्यवस्थापनकाे नाममा वन सखाप पार्ने नीति पो रहेछ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मङ्गलवार काठमाण्डाैमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको हो ।

वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका लागि पनि नागरिककाे साथ लिने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले वैज्ञानिक वन व्यवस्थापन भनेर ल्याइएकाे नीति वन सखाप पार्ने नीति रहेछ भन्ने थाहा नभएकाे बताउनु भयाे । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि सबै कुरा नागरिककाे साथ लिएर अबकाे नीति तयार गरिने पनि जानकारी दिनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरूले वनको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उपभोक्ता समितिहरूले नष्ट भइसकेका वनहरूलाई पुनर्जीवन दिएको उहाँको भनाइ छ । फलस्वरूप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनको सुरक्षा, समुचित प्रबन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताउनुभयो । वनको अधिकतम सुरक्षा र विकास गरी नागरिक र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उहाँको भनाइ छ । कार्बन ट्रेडको लागि विश्व बैँकसँग सम्झौता गरिसकिएको र यसबाट देशले लाभ लिन सक्ने बारे पनि चर्चा गर्नुभएको छ ।

Comments Box