मनकामना मन्दिरबाट रु तीन लाखका सामग्री चोरी



बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिनुभयो ।

मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ । पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ । आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिनुभएको थियो । शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ । चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ । चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।

सुरक्षित गर्भपतन गराउने बढ्दै बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ । गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेका हुन् । जिल्लाभर पाँच स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छन् । तीमध्ये सदरमुकामस्थित धौलागिरि अस्पतालमा सबैभन्दा बढी सुरक्षित गर्भपतन हुने गरेका छन् । सदरमुकाम र जिल्लाको सुदूरपश्चिममा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै अनिच्छित गर्भ रहेका महिला गर्भपतनका लागि पुग्ने गरेका छन् । चालू आर्थिक वर्षको हालसम्म धौलागिरि अस्पतालमा १६५ महिलाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । अस्पतालका नर्सिङ निरीक्षक मिलन बडूवालले कोरोना भाइरसको महामारी फैलिनुभन्दा पहिले हरेक महिना ५० महिला गर्भपतनका लागि आउने गरेको भए पनि पछिल्लो समयमा भने ३०÷३५ जना मात्र आउने गरेको बताउनुभयो । गत वर्ष अस्पतालबाट ६०० महिलाले गर्भपतन गराएका थिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चालू वर्षको हालसम्म ९९ महिलाले सुरक्षित गर्भपतन गराएको डा मिलन मल्लले जानकारी दिनुभभयो । बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन बुर्तिबाङमै गराए पनि त्यो भन्दा माथिको लागि धौलागिरि अस्पताल बागलुङमा रिफर गर्ने गरेको उहाँले बताउनुभयो । गर्भपतन गराउन आउने महिलाको सम्पूर्ण स्वास्थ्य जाँच गरी पाठेघर, बच्चाको अवस्था र गर्भवती महिलालाई जोखिमको अवस्था अध्यायन गरेर मात्र गर्भपतन गराउने गरेको उहाँको भनाइ छ । गर्भपतन गराउनेको परिचय सुरक्षित रहने भएकाले पनि इच्छा विपरितको गर्भपतन गर्न आउनेको सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समय शिक्षाको पहुँच र जनचेतनाका कार्यक्रमले गर्दा सन्तानको रहर पुगेका तर स्थायी बन्ध्याकरण नगराएका दम्पति गर्भपतनका लागि धेरै आउने गरेका छन् ।

बागलुङ–कुश्मीशेरा सडक कालोपत्र लामो समयदेखि सर्वसाधारणको चासोमा रहेका बागलुङ–कुश्मीशेरा सडकमा कालोपत्रको काम शुरु भएको छ । स्तरोन्नतिको काम सकेर निर्माण कम्पनीले तापक्रम पुगेसँगै कालोपत्र विछ्याउन शुरु गरेको हो । बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको दश किलोमिटर खण्ड कालोपत्र हुँदैछ । गण्डकी प्रदेश सरकारको लगानीमा यो सडक कालोपत्र हुन थालेको हो । “पाग्जामा प्राइमकोट (अलकत्रको घोल) हाल्ने काम सकिएको छ, अब पहिलो चरणको कालोपत्र हुन्छ”, एमएस प्यासेफिक कर्ण विल्डर्सका साईड सुपरभाइजर सन्दिप श्रेष्ठले भन्नुभयो, “तीन चरणमा काम हुने भएकाले डेढ महिनामा सकिन्छ ।” यो सडक ट्र्याक खुलेको दुई दशकपछि कालोपत्र हुन लागेको हो ।

गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्र हुँदा जिल्लाको दक्षिण क्षेत्रका सर्वसाधारणलाई सहज हुनेछ । अहिले सडकमा सवारीको आवागमन रोकेर प्राइमकोट विछ्याउने काम भइरहेको छ । “पहिलो चरणको प्राइमकोट राखेपछि सवारी चल्न दिन्छौं”, उहाँले भन्नुभयो, “प्राइमकोट (अलकत्रको घोल) नसुक्दासम्म धुलोले असर गर्ने भएकाले वैकल्पिक सडकबाट सवारी पठाइएको छ ।” पहिलो चरणमा बागलुङ नगरपालिका–१३ पाग्जादेखि वडा नं १४ को पानी ट्याङ्कीसम्मको काम सकिने छ । दोस्रो चरणमा पानी ट्याङ्कीदेखि वडा नं १२ को सरङ्गेसम्मको काम सकिने उहाँले बताउनुभयो । २०७५ असारमा बोलपत्र प्रक्रिया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम २०७६ भदौ १० गतेदेखि शुरु भएको थियोे । मालढङ्गाभन्दा केही अगाडि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै चार किलोमिटर सडक २०७३ सालमा कालोपत्र भएको थियो । सडक विभागले पक्की बनाएको उक्त सडकको अन्तिम बिन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रको काम शुरु भएको हो ।

पाग्जादेखि टाकुरीसम्मको सडकबाहेक टाकुरीदेखि कुश्मीसेरासम्म पनि यसअघिनै कालोपत्र भइसकेको छ । भौतिक पूर्वाधार मन्त्रालयको रु २६ करोडको लगानीमा यो सडक कालोपत्र हुँदैछ । २०७८ साल असोज मसान्तसम्म काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मेबारी लिएको कम्पनीले पाँच महिना पहिले नै काम सक्नेगरी धमाधम काम गरिरहेको हो । “अब अवरोध छैनन्, दुई महिनाभित्रै हस्तान्तरण गर्छौं”, श्रेष्ठले भन्नुभयो, “कोरोनाको अवरोध नभएको भए धेरै पहिला हस्तान्तरण हुन्थ्यो ।” सडक स्तरोन्नतिको काम दुई महिना पहिलै सकिएको भए पनि कालोपत्रका लागि तापक्रम पुग्नुपर्ने भएकाले फागुन पर्खनु परेको थियो । सडकमा कालोपत्र विछ्याउन थालेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

तत्कालीन जिविसले २०५४ मा निर्माण थालेको यो सडकखण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडकखण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्याङ्कसमेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआइडिपी, कहिले ड्रिलीप र कहिले स्थानीय तहको बजेट लगानी परेको थियो ।

Comments Box