पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो ।
प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ । विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ । सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा पूजा गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । पूजा गर्न २५ ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो । सो अवसरमा रुद्राभिषेक, चार वेद र शिवपुराण पाठपारायण एवं वास्तु र तन्त्र विधिबाट समेत पूजा आराधना गरिएको पनि उहाँले बताउनुभयो । सोक्रममा राष्ट्रपति भण्डारीले दक्षिण भारतबाट विशेष निमन्त्रणा गरिएका पाँच ब्राह्मणबाट गरिएको शान्तिपाठ श्रवण गर्नुभएको कोषले जनाएको छ । प्राणप्रतिष्ठापछि राष्ट्रपति भण्डारीले राष्ट्रको शान्ति र अमनचयनका लागि सङ्कल्प प्रार्थना गर्नुभएको थियो । उहाँका सञ्चार तथा सूचनाविज्ञ टीका ढकालका अनुसार उक्त पूजाआजा करीब ४५ मिनेट चलेको थियो । त्यसपछि राष्ट्रपतिले सो क्षेत्रका शक्तिपीठको दर्शनसमेत गर्नुभयो । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, कोषका पदाधिकारीलगायत अधिकारीको उपस्थिति थियो ।
पीठिकापछि पशुपतिनाथस्थित मूल मन्दिरको छाना र बसाहामा समेत सुनको लेप लगाउन लागत स्टिमेटको काम भइरहेको छ । यसका लागि २० किलोसम्म सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पशुपतिमा सुनको पीठिका निर्माण, छाना र बसाहामा सुनको लेपन एवं चाँदीको काम गर्न करीब रु एक अर्ब लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि सरकारले संस्कृति मन्त्रालयका तर्फबाट रु ३० करोड सहयोग गरेको थियो । अरु स्रोत कोषले नै जुटाएको हो । यसैगरी पशुपतिका चार ढोकामा रहेको चाँदीसमेत मर्मत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरका चार ढोका र वरिपरि चाँदीको लेप लगाइएको छ । यसका लागि हाल लागत अनुमानको काम भइरहेकाले लगत्तै छाना र बसाहामा सुनको लेप एवं चाँदीको काम शुरु गरिने कोषले जनाएको छ । महाशिवरात्रिअघि नै पशुपतिनाथ मन्दिरलाई नयाँ स्वरुपमा परिणत गर्ने कोषको तयारी छ ।
यस वर्ष यही फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको जनाउँदै कोषका पूर्वकोषाध्यक्षसमेत रहनुभएका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीलम ढुङ्गानाले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । कोषले भने सम्पदा मास्ने गरी ऐन विपरीत काम नभएको जिकिर गरेको छ । अदालतको शिरोपर गरिने कोषका सदस्य सचिव डा ढकालले बताउनुभयो । उहाँका अनुसार यसअघिको चाँदीको जलहरी नहटाई त्यसैमाथि सुनको जलहरी राखिएको छ ।