गलकोटमा सामूहिक किबी खेती, किसानले थालेको अभियानमा वडाको साथ



तारानाथ आचार्य

बलेवा, १० फागुन (रासस)- बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन्। समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन्। समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन्।

गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार ३०० किबीका बिरुवा रोपिएको हो। किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु सात लाख खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताउनुभयो।

 नगरले समूहलाई अनुदान दिएको छ, किसानको मेहनत र नगद लगानीसमेत सामूहिक रुपमा भएको छ”, उहाँले भन्नुभयो,व्यावसायिक उत्पादनको आशा राखेका छौं।” किसानले एक हजार ५०० बिरुवा रोप्ने योजना बनाएका छन्। पहिलो चरणमा १५ रोपनी जमीन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किबीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरूले सुनाए। सुवेदीले भन्नुभो,यो पहिलो चरणको थालनी मात्रै हो।” किसानले थालेको अभियानमा वडाध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिबद्धता जनाउनुभयो।

साथै उहाँले बिरुवा खोजी र बजारीकरणको अभियानमा साथ दिने बताउनुभयो। गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताउनुभयो। गलकोट क्षेत्रका केही किसानले व्यक्तिगत रुपमा लगाएको किबीले राम्रो फसल दिएकाले यहाँको माटो किबीका लागि उर्वर रहेको मानिएको छ।

धान कोदो लगाउँदा दुःख धेरै आम्दानी कम हुने अवस्था छ”, किसान सुवेदीले भन्नुभयो, किबीको बजार राम्रो छ, तत्कालै नगद पर्ने भएकाले पनि किसानका खर्च चलाउन सहज हुन्छ।” खेतबारी र पाखोबारीका साथै किसानले वनमारा फँडानी गरेर खेतीयोग्य जमीन छेउका पखेरामासमेत बिरुवा लगाउने योजना बनाएका छन्।

सुरक्षित वैदेशिक रोजगारीबारे सचेत बन्दै

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङका चार स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेपछि समुदायले चासो राख्न थालेका छन्।

वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन थालिएको हो। सचेतना कार्यक्रममा सहभागी भएकाले चासोका साथ रोजगारीको विषयमा जानकारी लिने गरेका छन्।

स्थानीय तहको नेतृत्व, स्थानीय सेवा प्रदायक संस्था विवाइसीको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत ती स्थानीय तहको टोल टोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवालाई सचेत गराउन थालेको सामी परियोजना संयोजक मीनप्रसाद उपाध्याले जानकारी दिनुभयो।

वैदेशिक रोजगारीले देशमा गरीबी घटाउन ठूलो योगदान गरेको छ। यद्यपि वैदेशिक रोजगारीका फाइदाका अतिरिक्त यसमा विभिन्न किसिमका जोखिम छन्। वैदेशिक रोगजारीका क्रममा ठगिमा पर्ने, झुठो आश्वासन कबुल गरे भन्दा फरक काम तथा फरक सेवा सुविधा उपलब्ध हुने अवस्था छ।

वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गरिएको छ।

बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाको विभिन्न स्थानमा सामुदायिक अभिमुखीकरण तथा गहन अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको संयोजक उपाध्याको भनाइ छ। “विदेश जाँदा घरमा कागजात छोड्नुपर्ने विषयमा जानकारी थिएन”, बानपा–६ का देवेन्द्र परियारले भन्नुभयो, सानो सतर्कता अपनाउँदा न्यायिक पहुँचमा जान सकिने जानकारी भयो।”

वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धिमूलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) तेस्रो चरण नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौताअन्तर्गत सञ्चालित छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका १५६ स्थानीय सरकारको नेतृत्वमा सञ्चालित कार्यक्रमका लागि हेल्भेटासले प्राविधिक सहयोग उपलब्ध गराएको छ।

वैदेशिक रोजगारीमा जोखिम कम गर्दै यसबाट प्राप्त हुने प्रतिफल वृद्धि गर्न बागलुङ, जैमिनी, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गत वर्षको मङ्सिरदेखि सामी परियोजना सञ्चालनमा रहेको छ।

परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श, निःशुल्क कानूनी सेवा, निःशुल्क सीप तालीम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनःस्थपनाको काम गर्दै आएको विवाइसीका अध्यक्ष मणि शर्माले जानकारी दिनुभयो।

–––

Comments Box