इतिहास रच्ने सफल टोलीलाई तनहुँमा सम्मान



दमौली, ९ फागुन (रासस)- पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आज स्वागतसहित बजार परिक्रमा गराइएको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको टोलीलाई जिल्ला भलिबल सङ्घ तनहुँले दमौलीमा स्वागत एवं सम्मान गर्दै बजार परिक्रमा गराएको हो। पञ्चेबाजासहित दमौलीस्थित अनसनचोक, सफासडक, गणेशमानचोक, मालपोत लाइनमा खेलाडीलाई परिक्रमा गराइएको छ।

खेलाडीलाई सम्मान व्यक्त गर्दै जिल्ला खेलकूद विकास समिति तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम भुसालले मुख्यमन्त्री कप भलिबल प्रतियोगिता जितेर खेलाडीले तनहुँको मान र सम्मान बढाएको बताउनुभयो। जहिले पनि कास्की र स्याङ्जाको दबदबा रहने भलिबलको इतिहास यसपटक तनहँुले तोडेको बताउँदै भुसालले भन्नुभयो, “यो इतिहास रच्ने सफलता सदैव मिलोस्।”

जिल्ला भलिबल सङ्घका अध्यक्ष पदम सुनार र सचिव अशोक गिरीले खेलाडीको उत्कृष्ट प्रदर्शनले सफलता हासिल भएको भन्दै खेलाडीलाई बधाई ज्ञापन गर्नुभयो। पुरुषतर्फ प्रतिस्पर्धात्मक खेलमा तनहुँ जिल्लाले स्याङ्जालाई ३–२ को सेटमा हराउँदै उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरेको थियो। महिलातर्फ तनहुँले कास्कीलाई ३–१ को सेटमा हराउँदै तृतीय भएको थियो। तृतीय हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गरेको छ।

पुरुषतर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्नुभयो। महिलातर्फ उत्कृष्ट स्पाइकर तनहुँका उषा भण्डारी, पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा तनहुँका अशोक श्रेष्ठ, सेटरमा तनहुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित हुनु भई जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नुभयोे।                    

Comments Box