प्रजनन् स्वास्थ्य शिक्षाका बारेमा सचेत हुँदै किशोर किशोरी



कैलालीका अधिकांश क्षेत्रका किशोर–किशोरी यौनका विषयमा छलफल गर्न लजाउँदैनन् । नेपाल परिवार नियोजन सङ्घले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य क्लिनिकमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन् ।

उनीहरु यौन, प्रजनन् तथा स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा विस्तारै सचेत हुन थालेका पनि छन् । केही वर्ष अघिसम्म विद्यालयमा स्वास्थ्य शिक्षाअन्तर्गत प्रजनन् स्वास्थ्यको पाठ शुरु हुँदा कक्षामा एक जना छात्रा पनि बस्न लजाउँथे । शिक्षकले समेत त्यो पाठ नै पढाउन धक मान्थे। तर, अहिले विद्यार्थीहरु निर्धक्कसँग प्रजनन् स्वास्थ्यका बारेमा जानकारी राख्छन् । स्वास्थ्यकर्मी आफैं गएर विद्यालयमा प्रजनन् स्वास्थ्य पढाउन थालेपछि लाजले टाउको निहुराएर बस्ने विद्यार्थी समेत खुलेर प्रजनन् स्वास्थ्यका कुरा गर्न थालेको हुन् ।

सामुदायिक स्वास्थ्य क्लिनिकमा समेत किशोर–किशोरीलाई परामर्श दिन अलग्गै कोठाको व्यवस्था गरिएको छ । उनीहरु आफै आएर स्वास्थ्य समस्या र किशोरावस्थामा आउने परिवर्तनका बारेमा जानकारी लिन थालेका छन् । उनीहरुका लागि क्लिनिकले .किशोर÷किशोरी कक्षा चलाउने गरेको छ । समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागुपदार्थ दुव्र्यसनलगायत समस्या कायम छन् । ती समस्या कम गर्न सामुदायिक क्लिनिकले किशोर–किशोरीलाई परामर्श दिन थालेकोे नेपाल परिवार नियोजन सङ्घ कैलालीका सुपरभाइजर पूर्णबहादुर शाहले बताउनुभयो । “यौन, प्रजनन् तथा स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा सचेत भएपछि आफूहरु निर्धक्कसँग आफ्नै उमेरका किशोर किशोरीसंँग यस बारे संवाद र छलफलमा जुट्ने गरेका छौं”, स्थानीयवासी सुनिता चौधरीले भन्नुभयो, “नियमित जसो गर्ने संवादकै कारण यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका बारेमा लजाउने किशोर किशोरी अहिले खुलेरै आफ्ना कुरा राख्न थालेका हुन् ।” यौन शिक्षामा महिला वा पुरुषहरुको यौन स्वास्थ्यका साथ गर्भावस्था वा त्यसको बचावटको बारेमा बिस्तारसँग बताउने गरिन्छ । यसबाट युवाहरूको यौन सम्बन्धसँग हुनेवाला बिरामीहरु वा सङ्क्रमण जस्तो एचआइभी आदिप्रति जागरुक गर्ने गरिन्छ । यसकारण यौन स्वास्थ्य हरेक बच्चा वा किशोरलाई घरमा वा स्कुलमा दिनु आवश्यक हुन्छ ।

“शुरुमा किशोर–किशोरी आफ्ना समस्या राख्न लजाउथें । स्वास्थ्य समस्या लिएर आउँदा भन्न सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्लिनिकमा जाँदा गाउँका अरु पनि हुन्थ्ये, लाजकै कारण आफ्ना समस्या स्वास्थ्यकर्मीलाई राख्न पाएका थिएनौं, अलगै कोठा र किशोर–किशोरी मैत्री भएपछि खुलेर समस्या राख्न सक्ने भएका छौं । यसले किशोर–किशोरीको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ । ” पहिले पहिलोपटक महिनावारी हुँदा किशोरीमा त्रास अनुभव हुन्थ्यो, अहिले त्यो उमेरका किशोरीमा शिक्षाको प्रभावले त्रासको समस्या हटेको भन्दै उहाँले गाउँ बस्तीका टोल र विद्यालयमा यौन, प्रजनन् स्वास्थ्य शिक्षा, परिवार नियोजनका वारेमा जनचेतना जगाउन थालेपछि स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । पछिल्लो समय छात्राहरु महिनावारीको समयमा विद्यालय जान थालेका छन् । किशोर–किशोरी मैत्री स्वास्थ्य क्लिनिक भएपछि आफूलाई लागेको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी थाहा पाउन तथा स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा आउने सक्रियता बढेको स्थानीय किशोरी सुधानी चौधरीले बताउनुभयो ।

प्रजनन् शिक्षाका बारेमा गाँउमा छलफल गर्न सहज भएको उहाँको भनाइ छ । “सानो उमेरमा गरिने विवाहले आमा, बच्चा र परिवारकै भविश्य बिग्रन्छ”, उहाँले भन्नुभयो, “शरीरका सबै अङ्ग पूर्णरुपमा विकसित भएपछि विवाह गर्न, सन्तान जन्माउन र परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह स्वास्थ्यक्लिनिकबाट पाएका छौं ।” यसरी स्वास्थ्य क्लिनिकमा बिरामीले मात्र जान्छन भन्ने सोचलाई यहाँका किशोर–किशोरीले बदलेका छन् । किशोरावस्थाका लक्षण, उनीहरुको समस्या समाधान र सल्लाहका लागि स्वास्थ्यक्लिनिक जाने गरेको उनीहरु बताउँछन् । किशोर वयश्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने देखाउन सामुदायिक स्वास्थ्यक्लिनिकमार्फत जनचेतना जगाउन थालेको सुपरभाइजर शाहले बताउनुभयो । स्थानीयस्तरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि आफूहरु लागिपरेको उहाँको भनाइ छ । किशोर–किशोरीले आफ्नो स्वास्थ्यप्रति सुुसूचित भइ सचेत बनेर आफ्नो भविष्य सरल बनाउन सकुन् भन्ने चाहनाले सानै उमेरदेखि विद्यालयका पाठ्यक्रममा अध्ययन सामग्री राखेर शिक्षा दिँदै आइएको हो । तर समय, परिस्थिति र सामाजिक रूपमा आएका परिवर्तनले व्यक्तिमा साक्षर र बौद्धिक सम्पन्नता आएता पनि यौन शिक्षामा व्यावहारिकताको पक्ष कमजोर भएपछि यसलाई सुधार्न प्रजनन शिक्षालाई बढाउनु पर्ने स्थानीयवासीको माग छ ।

किशोर–किशोरीले यथोचित शिक्षा पाउनसके उनीहरूको भविष्य सरल र स्वस्थ बन्न सक्ने स्थानीयवासी गोवारी चौधरीको तर्क छ । यौन शिक्षाले यौनसँग जोडिएका भावना, जिम्मेवारी, शरीरिक परिवर्तन, यौन क्रियाकलाप, प्रजनन्का लागि सही उमेर, सुरक्षित यौन सम्पर्क, जन्म नियन्त्रण वा यौनमा संयमजस्ता विषयका बारेमा विस्तारसँग बताउने गरिन्छ । यो शिक्षा दिन थालेपछि महिला र किशोरीहरु आफूमा भएको स्वास्थ्य समस्या खुलेर राख्न सक्षम भएको उहाँको भनाइ छ । ‘‘विद्यालयका छात्र छात्रालाई पनि यस्ता समस्यावारे जानकारी दिने गरेका छौं’’, किशोरी सुधानी चौधरीले भन्नुभयो,‘‘यसले मान्छेले आफ्नो स्वास्थ्यका बारेमा राख्ने पुरानो सोच र लजाउने स्वभावमा ठूलो परिवर्तन आएको देखेको छु ।’’ हसुलिया, फुलवारी, चौमाला, पहलमानपुर लगायतका क्षेत्रमा सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । ‘‘कोरोना भाइरसको जोखिम हुने भन्दै केही समय यस्तो शिक्षा दिने काम स्थगित भएपनि अहिले पुनः सुचारु भइरहेको छ’’, सुपरभाइजर शाहले भन्नुभयो, ‘‘यो क्लिनिकमार्फत यौन प्रजनन् स्वास्थ्य शिक्षा बारे सचेतना फैलाउने र निःशुल्क रुपमा परिवार नियोजनका साधन उपलब्ध गराउने गरिएको छ ।’’ स्वास्थ्य क्लिनिक र युवा सूचना केन्द्रमार्फत् यौन प्रजनन् स्वास्थ्य, महिनावारी, परिवार नियोजनका साधन, सुरक्षित मातृत्व, नवजात शिशु, एचआइभी एड्सको उपचार तथा परामर्श, सुरक्षित गर्भपतन, लैङ्गिक हिंसा लगायतका बारेमा परामर्श दिइने गरिन्छ ।

विगतमा सुरक्षित मातृत्वका क्षेत्रमा काम गर्नु भएकी तारा तामाङ्ग सामुदायिक स्वास्थ्य क्लिनिकले काम थालेसँगै किशोर किशोरीको प्रजनन् स्वास्थ्यमा पहिले भन्दा केही सुधार भइरहेको पाइएपनि कम उमेरमै भागेर बिवाह गर्ने चलन बढ्दै गएको बताउनुहुन्छ । ‘‘मोवाइल र फेसबुकको बढ्दो प्रयोगका कारण उमेर नपुग्दै भागी विवाह गर्ने चलन बढ्दो छ’’, सुरक्षित मातृत्वका क्षेत्रमा काम गर्नुभएकी तारा तामाङ्गले भन्नुभयो, ‘‘यस्तो अवस्थामा बच्चा र आमाको स्वास्थ्यमा जटिल समस्या देखिने गरेको छ ।’’

Comments Box