दुई वर्षमा पनि सकिएन चौध सय मिटर सडक निर्माण योजना



म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हँुदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको हो ।

बेनी नगरपालिका–७ मङ्गलाघाटबाट वडा नं २ को हाडेभिर हँुदै बगरफाँट जोड्ने सडक कालोपत्रमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती भएको मङ्गलाघाटका सुवासकुमार श्रेष्ठले बताउनुभयो । “सडकको धुलोले हरेक पटक बेनी बजार गएर फर्किएपछि नुहाउनु र कपडा धुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।” सडक विस्तार र कालोपत्र गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिबाट मङ्गलाघाट जाने सडकमा यसअघि गरिएको कालोपत्र उप्काइएको थियो ।

नयाँ कालोपत्र गर्न ढिलाइ गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मङ्गलाघाटको सडकको धुलो र हिलोले स्थानीयवासी प्रभावित भएका छन् । हाडेभिर–बगरफाँट भकिम्ली, सिङ्गा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । हाल शहरी विकास मन्त्रालयको सघन शहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको यो योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ माघ २२ गते सम्झौता गरेका ठेकेदारले हालसम्म रु दुई करोड मात्र भुक्तानी लगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर प्रभाकर कर्णले बताउनुभयो ।

विसं २०७७ माघ २२ गतेसम्म म्याद रहेको आयोजनाका ठेकेदारले विगत एक वर्षदेखि काम गरेका छैनन् । एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा मङ्गलाघाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान भने २०७५ साउनमै गरिएको निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले बताउनुभयो । “लकडाउनले रोकिएको कालोपत्र गर्ने कामलाई चैत महिनाभित्र सक्न प्लान्ट स्थापना गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यसअघि गरिएको कामको समेत भुक्तानी पाएको छैन । यसपालि पनि रु ८० लाखमात्र बजेट विनियोजन भएको छ ।” यो सडकमा गर्ने भनिएको अक्सपाल्ट प्रविधिको कालोपत्रका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा सेटिङ हुँदैन । “नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सकिएको छ”, सिभिजनल इञ्जिनीयर कर्णले भन्नुभयो, “बेस र सवबेससमेत राखिसकेका छन् ।

छ महिना म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ ।” ठेक्काअनुसार गर्नुपर्ने कामको परिणाम पुर्याउन भेरिएसन अर्डर (भिओ) भइरहेको छ । सघन शहरी कार्यालय, प्रशासन, नगरपालिका र ठेकेदारबीच गत महिना भएको छलफलमा माघ महिनाभित्र अक्सपाल्टको प्लान्ट स्थापना गर्ने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नगरेका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

Comments Box