बिन्दवासिनी संस्कृत विद्यापीठ: संस्कृत शिक्षालाई समयसापेक्ष, जीवनोपयोगी र समाजोपयोगी बनाउन जोड



गण्डकी, ४ फागुन (रासस): पोखरास्थित बिन्दवासिनी संस्कृत विद्यापीठमा छात्रावास भवन निर्माण गरिएको छ। अठार कोठासहितको तीन तले पक्की भवनको आज आयोजित एक कार्यक्रमका बीच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उद्घाटन गर्नुभयो।

कार्यक्रममा अध्यक्ष प्रा डा सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा जोड दिँदै संस्कृत शिक्षालाई समयसापेक्ष रुपमा जीवनोपयोगीका साथै समाजोपयोगी बनाउनेतर्फ क्रियाशील बन्नुपर्ने बताउनुभयो। संस्कृत भाषा, साहित्य र पम्परा हाम्रो जन्मदेखि मृत्युपर्यन्त जोडिँदै आएको उल्लेख गर्दै उहाँले संस्कृतप्रदत्त ज्ञानको सदुपयोगका लागि भाषा जीवन्त हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रसाद लामिछानेले संस्कृत शिक्षाप्रति पोखराको लगाव अनुकरणीय भएको बताउँदै विद्यापीठको आवश्यकताअनुसार अन्य आवासीय भवन, पुस्तकालय आदि निर्माणतर्फ सोच बनाएर अघि बढिने विश्वास व्यक्त गर्नुभयो। विश्वविद्यालयले समयसापेक्ष शिक्षालाई जोड दिँदै वास्तु इञ्जिनीयरिङ, योग तथा प्राकृतिक चिकित्सा, जीवनशैली व्यवस्थापनलगात विषयको पाठ्यक्रम तयारी पठनपाठन गर्ने सोच बनाएको उहाँले जानकारी दिनुभयो।

विश्वविद्यालयका कुलसचिव सह प्रा माधवप्रसाद अधिकारीले संस्कृतमा सबै छ भन्ने नभई यो छ भनेर देखाउनुपर्ने बेला आएको बताउनुभयो। विद्यापीठमा प्राध्यापकलाई अनुसन्धानात्मक काममा लाग्ने किसिमको वातावारण तयार गर्नुपर्ने बताउँदै उहाँले विश्वविद्यालयलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनेतर्फ लागिएको बताउनुभयो।

बिन्दवासिनी संस्कृत विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले सबैको साथ र सहयोगमा विद्यापीठलाई गण्डकी प्रदेशकै संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गरिने बताउनुभयो।विद्यापीठका प्राचार्य नारायणप्रसाद सापकोटाले विद्यापीठमा फलित ज्योतिषको स्नातकोत्तर तहको पठनपाठका लागि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो।

संविधानसभा सदस्य एवम् विद्यापीठ विकास समितिका पूर्वसदस्य शारदा पौडेलले संस्कृत शिक्षाको गरिमा र महत्वलाई आत्मसात् गर्दै विद्यापीठ स्थापना गरिएको स्मरण गर्नुभयो। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संस्कृत शिक्षाको विकसित मुलुकले यो वा त्यो रुपमा उपयोग गरिरहेपनि हामी संस्कृतका अनुयायीले अझै पनि यसको महत्वलाई आत्मसात् गर्न नसकेको धारणा राख्नुभयो।

कार्यक्रममा विद्यापीठ विकास समितिका पूर्वअध्यक्ष ऋषि सापकोटा र विष्णुप्रसाद बराल, बिन्दवासिनी संस्कृत विद्यापीठका पूर्वप्राचार्य प्रा डा शालिकराम सुवेदी, सहप्रा श्रीराम बराल र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकार्यकारी परिषद् सदस्य एवं नेपाल प्रध्यापक सङ्घ बिन्दवासिनी संस्कृत विद्यापीठका सभापति सहप्रा अम्बिकाप्रसाद भट्टराई, नेपाल प्राध्यापक सङ्घ नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय उपसभापति आनन्दमणि रिजाललगायतले संस्कृत शिक्षाको महत्वबारे चर्चा गर्नुभयो।

–––

Comments Box