भरतपुर, ३ फागुन (रासस) : जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् ।
त्यसले गर्दा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ । जिल्लामा हालसम्म ४० वटा सिसिटिभी सडकमा जडान भएका छन् । तीमध्ये १४ वटामात्र सञ्चालनमा छन् ।
त्यही पनि सामान्य खालका मात्र छन् । जिल्लामा थप ४२ स्थानमा सिसिटिभीको अतिआवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका २९ स्थान, रत्ननगरपालिकाका सात स्थान र खैरहनीका छ स्थानमा सिसिटिभीको थप अतिआवश्यकता पहिचान गरिएको हो । थापाका अनुसार सिसिटिभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ ।
विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सिसिटिभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको थापाले बताउनुभयो ।