एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्व किर्तिमान राख्ने डा. नवल पञ्जियार सम्मानित



काठमाडौँ (रासस): सुडी समाज काठमाडौँले स्मरण शक्तिका माध्यमबाट “गिनिज बुक अफ द वल्र्ड रेकर्ड” मा नाम दर्ता गराउन सफल हुनुभएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ।

जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मनुभएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल हुनुभएको हो। श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र लगनशीलताका रुपमा आफूले जन्मेको स्थान, प्रदेश, देश र अन्तरराष्ट्रिय परिवेशमा प्रेरकको भूमिका निर्वाह गरी सुडी समुदाय र समाजलाई गर्नुभएको योगदानको कदर गर्दै सुडी समाज काठमाडौँद्वारा फागुन १ मा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरेको हो।

त्यस्तै समाजले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका डा अंकुर शाहलाई पनि सम्मान गरेको छ। प्रदेश नं २ को समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण र नागरिकको स्वास्थ्य अवस्था सुधारमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो।

दुवै जनालाई समाजका अध्यक्ष डा अशोक महासेठ, निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र महासचिव शीतलप्रसाद महतोले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गर्नुभएको हो।

कार्यक्रममा सुडी समाज काठमाडौँ, युवा उपसमिति र महिला उपसमितिका सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। सो अवसरमा समाजका सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता निराला र इञ्जिनीयर सत्यनारायण साहले नेपालमा बसोबास गर्ने सुडी समुदायको हकहित र अधिकारको प्रवद्र्धन तथा उन्नयनका लागि समाज क्रियाशील हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै सुडी समाजभित्र महिला, युवा, गरीब र विपन्नलाई नेतृत्व तहमा अर्थपूर्र्ण सहभागिता गराउनुपर्ने बताउनुभयो।

युवा उपसमितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष डा महासेठ, महासचिव महतो तथा महिला उपसमितिका संयोजक अनिता निरालालगायतले सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाजको अवधारणा आगाडि ल्याउन खोजिएको बताउँदै यसमा सम्बन्धित सबै पक्षको सक्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो।

Comments Box