सत्यमोहन जोशी र श्रीमती राधादेवी जोशीले दान गर्नुभयो आफ्नो शरीर



ललितपुर, ३० माघ (रासस)- संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गर्नुभएको छ।

नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उहाँहरूले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताउनुभयो।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको बताउनुभयो। उहाँले भन्नुभयो, म चाहान्छु, यती लामो उमेरसम्म कसरी र के कारणले मेरो शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस्।” हरेक मानिसले दीर्घ जीवन पाउन पीर, चिन्ता, शोकरहित भएर सधै आ–आफ्ना कर्ममा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको शरीरबारे अध्ययन गरी पाएको उपलब्धीलाई मुलुकवासीले पक्कै मनन् गरी अघि बढ्ने विश्वास लिइएको भनाइ राख्नुभयो।

प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसार्इंले जोशीमा महानता, सरलता र दुरदर्शी भावना रहेको औँल्याउनुभयो। उहाँले भन्नुभयो, मेडिकल कलेजलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उहाँहरूका छोरा अनुराज जोशीसमेतको सहमतिको हस्ताक्षर गरिएको छ।”

Comments Box