तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै



चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्र्रिया गरिएको थियो ।

चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम गरिएको कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिनुभयो । कालीमाटीमा गरिएको परीक्षणमा चितवनबाट पछिल्लो समय अत्यधिक विषादीको मात्रा भएका तरकारी उत्पादन भएको भेटिएको उहाँले बताउनुभयो । “जिल्लामा पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि कार्यक्रम भइरहेका छन्, हामी पनि यसबारे किसानलाई जानकारी प्रदान गर्न किसानको खेतबारीमा पुगेका छौँ”, उहाँले भन्नुभयो । कालीमाटीमा बढी तरकारी जाने जिल्लामा चितवन पर्छ । “यहाँबाट उत्पादन भएको तरकारी नष्ट गर्नुपर्दा किसानलाई नोक्सान हुने गरेको छ, नगर्दा उपभोक्ताले विषादी खाने अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि छुट्टै स्टलको व्यवस्था गरेको जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यो सिजनमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेको बताउनुभयो । “सबैले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “विषादी हालेर पर्खनुपर्ने समयावधि नपुगी बजारमा लैजाँदा विषादीका अवशेषहरु भेटिने गरेका छन् ।”

भरतपुर–२५ अमृतनगरका युवा कृषक लेखनाथ भुसालले विषादी प्रयोग किसानको बाध्यता भएको बताउनुभयो । “अधिकांश किसान साक्षर छैनन्”, उहाँले भन्नुभयो, “सबै कुरामा एग्रोभेटको विश्वास गर्ने परिपाटी छ ।” उहाँले यो समस्या सामाधन किसानले मात्रै गर्न नसक्ने बताउनुभयो । उच्चदरमा हुने विषादी बिक्री वितरणमा सरकारले नै रोक लगाउनुपर्ने उहाँको धारणा छ । “किसान उत्पादक र उपभोक्ता दुवै हो, स्वास्थ्यको चिन्ता किसानलाई पनि हुन्छ तर बाध्यता छ”, उहाँले भन्नुभयो । उहाँले कुन विषादीले स्वास्थ्यमा कति असर गरेको छ भन्ने कुरामा अनभिज्ञ रहेको बताउनुभयो । राज्यले एउटा योजना बनाएर काम गर्नुपर्ने भन्दै उहाँले बाली उत्पादन हुन नसक्ने अवस्थामा किसानलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । विनिता एग्रो सेन्टरका सञ्चालक विशाल श्रेष्ठले आफूहरुले किसानलाई प्रयोग गर्ने मात्रा र विधि जानकारी दिएर मात्र विषादी बिक्री गर्ने गरेको बताउनुभयो । “कतिपय किसानले आफँै विषादीको नाम लिएर माग्नुहुन्छ”, उहाँले भन्नुभयो, “वेटिङ पिरियड र विषादी डोजका बारेमा पनि जानकारी दिने गरेका छौँ ।”

किसानले कीरा चाँडै मरोस् र धेरै तरकारी फलोस् भनेर पनि जथाभावी विषादी प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । गाउँगाउँमा अवैधरूपमा विषादी बेच्न हिँड्ने क्रम नरोकिएका कारण पनि यस्तो समस्या आएको उहाँको भनाइ छ । किसान कुलचन्द्र आचार्यले राज्यले कडा खालका विषादी रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विषादी नहालौँ तरकारी फल्दैन, हालौँ स्वास्थ्यमा असर गर्ने डर छ ।” उहाँले विषादीबिना कुनै पनि कृषिजन्य उत्पादन हुन छाडेको गुनासो गर्नुभयो ।

भरतपुर महानगर तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिका सञ्चालक पुरुषोत्तम गौतमले विषादी परीक्षण गरेर मात्र किसानलाई बिक्री वितरण गर्नु राम्रो हुने बताउनुभयो । उहाँले शुरुमा थोरै तरकारी लगेर विषादी परीक्षण गर्न र योग्य भए त्यसपछि मात्र बजारमा लैजान किसानलाई सुझाव दिनुभयो । कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले यस आर्थिक वर्ष २०७७÷७८ मा भरतपुरको महानगर तरकारी तथा फलफूल थोक बजारमा रहेको प्रयोगशालामा ६३४ नमूना परीक्षण भएको बताउनुभयो ।

तीमध्ये ११ परीक्षण क्वारेन्टिनमा रहेको र आठवटा नष्ट गर्नुपरेको जानकारी दिनुभयो ।

 


किन किसान खोज्दै रैथाने जातका बीउ ? हाइब्रिड र उन्नत जातबाट दिक्क भएकै हुन?

डडेल्धुरा, (रासस) – बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन्।

पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन्। चैत महिनासम्म पनि भित्र्याउन मिल्ने ‘चोतो’ आर्थात् रैथाने जातको मूला बजारमा भेटिँदैन। एउटा घरमा पाकेपछि टोलभरि नै वासना आउने अर्को रैथाने जातको काउली बजार नआएको डेढ दशक भइसकेको छ। परम्परागत जातका कागती र सुन्तला पनि हराइसकेका छन्। रैथाने जातको अदुवा र लसुन पनि पछिल्लो समय बजारमा पातलिएको छ।

अमरगढी–१का कृषक रामबहादुर ऐर पछिल्लो समय परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भइरहेको बताउनुहुन्छ। पहाडमा उत्पादित वस्तुको उसै पनि राम्रो बजार रहेको बताउँदै ऐरले भन्नुभयो, पहाडकै रैथाने जातको उत्पादनले झन् राम्रो मूल्य पाउन थालेपछि हाइब्रिड र उन्नत जातका बीउबिजन प्रयोग गरी व्यावसायिक खेती गर्ने कृषक पनि रैथाने जातका बीउबिजन खोज्न थालेका छन्।”

तराईमा उत्पादन हुने र पछिल्लो समय बङ्गलादेशबाट आयात गरिएको मासभन्दा पहाडी क्षेत्रमा उत्पादन भएको मासले दोब्बर मूल्य पाउने गरेको किसानहरूको भनाइ छ। डडेल्धुरा अजयमेरु गाउँपालिका–५ का अगुवा कृषक तेजबहादुर खड्काले भन्नुभयोे, मास मात्र होइन, रैथाने जातको भटमास, गहत, राजमा, बोडी र सिमीलगायतका वस्तुको माग पनि त्यत्तिकै बढ्न थालेपछि कृषक यी कृषि उपजको उत्पादनमा लागेका छन्।”

डडेल्धुरामा उत्पादन भएको राजमा, गहत र मास सिधै राजधानी काठमाडौँ पुग्न थालेको जनाइएको छ। त्योभन्दा परम्परागत जातका बीउबिजनबाट उत्पादित वस्तुको सानो बजार भए पनि मुनाफा राम्रो हुने गरेकाले लोप हुन थालेका परम्परागत बीउबिजन पुनः प्रयोग हुन थालेको हो। कृषक खड्काले थप्नुभयो, हाइब्रिड र सरकारले तोकेको उन्नत जातका बीउबाट धेरै उत्पादन हुने भए पनि बजारमा तीव्र प्रतिस्पर्धा, बिचौलियामार्फत बिक्री वितरण गर्नुपर्ने बाध्यता र उचित मूल्य पनि पाउन मुस्किल हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन्।”

सीमावर्ती क्षेत्रमा नेपाली बजारलाई लक्षित गरी भारतीय कृषकले उत्पादन गरेको हाइब्रिड जातका उत्पादनसँग पहाडी क्षेत्रका कृषकले प्रतिस्पर्धा गर्न निकै कठिन हुन थालेको कृषकहरूको अनुभव छ। स्थानीय कृषक धनीराम जोशीले भन्नुभयो, सीमापारि भारतीय क्षेत्रमा उत्पादित भई भित्रिने कृषि उपजसँग प्रतिस्पर्धा गर्न भने स्थानीय किसानलाई समस्या भइरहेको छ।”

परम्परागत बीउबिजनको प्रयोगबाट हुने उत्पादनको बजार पहाडी जिल्लामा प्रशस्त रहेको कृषक जोशीले बताउनुभयो। सरकारले पनि रैथाने बीउबिजनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर कृषि नीति तय गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्ट बताउनुहुन्छ। रैथाने जातका बीउबिजनको प्रयोग जैविक विविधताको संरक्षणसँग समेत जोडिएको विषय भएको उहाँको भनाइ छ।

विसं २०६१ मा बनेको कृषि नीतिमा पनि रैथाने र परम्परागत जातका बीउबिजन संरक्षण तथा व्यावहारिक प्रयोगमा ल्याउन सकिने खाले कार्यक्रम तय गर्ने उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो। पहाडी क्षेत्रमा अहिले पनि परम्परागत र रैथाने बीउबिजनको प्रयोग भइरहेकाले यसको संरक्षणमा कठिनाइ नरहेको कृषि प्राविधिकको भनाइ छ।

सदरमुकाम आसपासका कृषकहरूले ठूलो मात्रामा व्यावसायिक खेती गरिरहेका कारण हाइब्रिड र उन्नत जात प्रयोग गरे पनि कतिपय ग्रामीण क्षेत्रमा भने रैथाने बीउको प्रयोग बढ्न थालेको छ। रैथाने जातका बीउको प्रयोग र संरक्षणको प्रयासमा अन्य जिल्लाका किसान लागेको स्थानीय किसानको भनाइ छ।

हाइब्रिड जातका कृषि उपजभन्दा रैथाने जातका कृषि उपज खानमा बढी स्वादिलो हुने गरेको कृषकको भनाइ छ। रैथाने जातको आलु, मुलालगायतको खेती गर्दा पनि रोग किराको समस्या त्यति नदेखिने बताइन्छ।

–––

Comments Box