कावासोतीको टरुवा ताल संरक्षणका लागि सात करोडको रूपैयाँ लगानी गरिने



कावासोती, ३० माघ (रासस) – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु सात करोडको लागतमा कार्यक्रम गरिने भएको छ।

कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको हो। पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत रु सात करोड बराबरको काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो। ताल अहिले झारले ढाकेर जीर्ण बनेको छ।

कावासोती–७ र ८ अन्तर्गत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय विकासका कार्यक्रम गरिने छ। नगरपालिकाकै मत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा तालसहितको क्षेत्र आवश्यक पूर्वाधारको अभावमा ओझेल पर्दै आएको थियो। यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगरप्रमुख पुनले बताउनुभयो। नगरपालिकाको हरेक क्षेत्रको विकासमा आफूहरू नगरस्तरबाट लागेको बताउँदै  प्रदेश र सङ्घसँग समेत साझेदारीमा यहाँको विकासका लागि काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो। “हामी नगरका हरेक क्षेत्र समेटेर विकासका कामलाई अगाडि बढाइरहेका छौँ, पर्यटकीय क्षेत्रको विकासमा मन्त्रलायसँग समेत साझेदारीमा काम गर्न लागेका छौँ”, नगरप्रमुख पुनले भन्नुभयो, आवश्यकताअनुसार प्रदेश र सङ्घसँग समन्वय गर्दै अघि बढ्नेछौँ।” पर्यटकीय क्षेत्रको विकासका लागि मन्त्रलायसँगको साझेदारीमा काम अघि बढन् लाग्नु खुशीको कुरा भएको नगरप्रमुख पुनले बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साझेदारीमा काम गर्न लागिएका देशभरका २०० योजनाको सूची सार्वजनिक गरेको छ।

टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि यति धेरै बजेट विनियोजन भएको हो। पहिलोपटक  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच यति धेरै बजेट साझेदारीमा कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताउनुभयो। कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो।

टरुवा ताल क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नगरको पहिल्यैकै योजना रहेको र सोहीअनुसार गुरुयोजनासमेत तयार गरिसकिएकाले अब ठेक्का प्रक्रियामार्फत तत्काल काम अगाडि बढाइने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताउनुभयो। उहाँले पर्यटन पूर्वाधार विकासका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाका रूपमा विकास हुने बताउनुभयो।

मन्त्रालय र नगरपालिकाबीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाका रूपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना शाखाका  शाखा अधिकृत होमनाथ काफ्लेले बताउनुभयो। उहाँका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ। मन्त्रालयको रु चार करोड  ५५ लाख र कावासोती नगरपालिकाको रु दुई करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताउनुभयो।

कावासोती नगरपालिकामा रहेको टरुवा ताल यहाँको महत्वपूर्ण क्षेत्र हो। बजार क्षेत्रबाट नजिकै रहेकाले समेत भोलिका दिनमा महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने आशा गरिएको छ।

Comments Box