तीन ठेकेदार कम्पनीले तिरे जरिवाना



सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले रु एक÷एक करोडका दरले रु तीन करोड जरिवाना बुझाएका छन् । सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका दरले उक्त जरिवाना बुझाएका हुन् ।

पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि केही समयअघि भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । उक्त अवधिभित्र सन्तोषजनक तरिकाले काम नगरेको पाइएमा कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइने पूर्वाधार विकास कार्यालयका ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

कृष्णमार्गका लागि रु चार करोड, सिन्धुमार्गका लागि रु तीन करोड र श्रृगपथमार्गका लागि रु दुई करोड बजेट विनियोजन गरिएको थियो । उक्त मार्गअन्तर्गत विकास निर्माण भए पनि सम्पन्न गर्ने काम नभएकाले सम्पन्न गर्न ताकेता दिँदै आइएको उहाँले बताउनुभयो । श्रृगपथमार्गको फागुन १५, कृष्णमार्गको फागुन मसान्तसम्म र सिन्धुमार्गको चैत मसान्तभित्र योजना सम्पन्न गर्ने गरी निर्देशन दिइएको छ । उहाँले भन्नुभयो, “उक्त अवधिभित्र योजना सम्पन्न नगरे कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइनेछ ।”

विश्व बैंकको सहयोगमा सञ्चालित उक्त योजना समयमा सम्पन्न नहुँदा प्रदेशमा हस्तान्तरण भई प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले काम गर्न कठिनाइ भएको उहाँले बताउनुभयो । उक्त तीनवटा निर्माण कम्पनीको कार्यले टाउको दुखाइको विषय बनेको छ । उहाँले भन्नुभयो, “प्रदेश र केन्द्रबाट कति प्रतिशत काम सम्पन्न भयोे भनेर बारम्बर सोधनी हुन्छ, जवाफ दिनै गाह्रो भएको छ ।”

चक्रपथमा कालोपत्र गण्डकी प्रदेश सरकारको सहयोगमा मालपोत लाइन, उद्योग वाणिज्य सङ्घदेखि प्रशासन कार्यालयबाट पूर्वाधारको कार्यालय हँुदै रिङरोड क्षेत्रमा कालोपत्र कार्य थालिएको छ । कूल बजेट रु ८२ लाख ३० हजार ९३८ रहेकामा रु ६० लाख ७८ हजार ०९० मा ठेक्का सम्झौता गरिएको हो । उक्त निर्माणको देवचुली निर्माण सेवा कावासोतीले जिम्मा पाएको छ । कूल दूरी १.१ किलोमिटर दूरीमा कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयकी सबइञ्जिनीयर निर्मला बरालले जानकारी दिनुभयो । आइसोलेशन खाली कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचारका लागि निर्माण गरिएको सबै आइसोलेसनकक्ष खाली भएका छन् । जिल्लामा मङ्गलबार दुई जना थपिएसँगै २२ जना रहे पनि उनीहरु होम आइसोलेशनमा रहेका छन् ।

कोरोनाको जोखिम घट्दै गएपछि पेशा व्यवसाय, उद्योगधन्दा, कार्यालय, विद्यालय, सवारी साधन पुनः पुरानै लयमा फर्किसकेका छन् । कोभिड–१९ का कारण सबै क्षेत्रमा असर पर्दा सबैले नोक्सान व्योर्हनुपरेको दमौलीमा मनकामना फोटो स्टुडियो सञ्चालन गर्दै आउनुभएका व्यवसायी लक्ष्मण आलेले बताउनुभयो । वातावरण सहज बन्दै गएपछि राहतको महसुस हुन थालेको छ । जेसिआइ धारा निर्माण व्यासनगर जेसिआइको लगानीमा दमौली अस्पताल जाने चोकमा जेसिआइ धारा निर्माण भइरहेको छ । दमौलीमा सार्वजनिक धारा नहुँदा पैदलयात्रीलाई पानी पिउन समस्या सास्ती खेप्नु परेपछि धारा निर्माण थालिएको हो । जेसिआइ पूर्वयोजनाअनुरुप खानेपानीको धारा निर्माण गरिएको व्यासनगर जेसिआइका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

योजना गरिएको भन्दा बढी खर्च हुने देखिएको छ । उहाँले भन्नुभयो, “करिब रु तीन लाख लाग्ने अनुमान गरिएको छ ।” शुरुमा रु डेढ÷दुई लाख लाग्ला भन्ने अनुमानसहित निर्माण थालिए पनि अहिले काम गर्दै जाँदा खर्च बढ्न गएको उहाँले बताउनुभयो । “जेसिआइ समाजमा गएर सामाजिक कार्यमा उत्तरदायित्व बहन गर्ने संस्था हो” उहाँले भन्नुभयो, “दमौली बजार क्षेत्रमा एउटा पनि सार्वजनिक धारा नदेखेपछि धारा निर्माण गर्ने निर्णयअनुरुप काम थालिएको हो ।” भक्तपुरबाट कलात्मक किसिमको धारा ल्याउँदा मात्रै रु ४५ हजार खर्च भएको छ । धारा निर्माणमा कसैको सहयोग नरहेको र सबै जेसिआइका पदाधिकारीको सहयोगमा निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

दमौली अस्पताल नजिक रहेको सार्वजनिक शौचालय माथि दुई ट्याङ्की राखिएको छ । जिससको प्राङ्गणमा ढुङ्गा बिच्छयाइँदैै जिल्ला समन्वय समितिको प्राङ्गणमा ढुङ्गा बिच्छ्याउने कार्य शुरु गरिएको छ । विसं २०७३ मा प्राङ्गणमा ढुङ्गा बिच्छ्याउने निर्णय भएकामा अहिले आएर त्यसलाई कार्यन्वयन गर्न लागिएको हो । करिब चार हजार ५०० स्क्वायर फिट क्षेत्रफलमा ढुङ्गा बिच्छ्याउने योजना रहेको जिससका सबइञ्जिनीयर अर्जुन सुवेदीले जानकारी दिनुभयो ।

जिल्लाभित्र रहेका १० पालिकाबाट प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष बैठकका लागि गाडी लिएर आउँदा कार्यालयमा हिलो र धुलो हुने भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थितस्थल बनाउन लागिएको उहाँले बताउनुभयो । “शुरुमा ढुङ्गा बिच्छ्याएर सोलिङ गरिन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि ढलान गरी पुनः आकर्षण किसिमको ढुङ्गा बिच्छ्याइन्छ ।” जिससमा जाँदा अव्यवस्थित र सरसफाइमा ध्यान नपुगेको भन्दै धेरै गुनासो आउन थालेपछि जिससले व्यवस्थित गर्न लागेको हो ।

पुराना सरसामान हटाउने, कार्यालयमा रङरोगन लगाउने, अतिथिगृहमा चौकीदारका लागि एक कोठा निर्माण गर्ने, महिला सीप विकास केन्द्रको मर्मत तथा जिल्ला समन्वय अधिकारीको क्वार्टर मर्मतलगायतका काम गर्न लागिएको जिससले जनाएको छ ।

Comments Box