आन्तरिक पर्यटकको रोजाइमा पातीहाल्ना



रुकुम (पूर्व) र बागलुङ दुई जिल्लाको सिमानामा पर्ने पातीहाल्ना पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । दुई जिल्लाको सङ्गम उक्त ठाउँमा अहिले आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गरेको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको उक्त ठाउँ पारिवारिक घुमघाम, कर्मचारीको छुट्टी मनाउने र अन्यको वनभोज जाने एवं मनोरञ्जन गर्नेहरुको थलो बनेको छ । पातीहाल्नादेखि हिँडेर एक घण्टा उकालो चढेपछि सुुन्दर ताल तिलाचन भेटिन्छन् । यो रोल्पा जिल्लामा पर्दछ । रुकुम (पूर्व) र बागलुङको सिमानामा भर्ने अर्को रिगल दह छ । यी ठाउँमा गएर रमाउने मानिसको सङ्ख्या दैनिक बढ्दो क्रममा छ ।

रुकुम (पूर्व)को भूमे गाउँपालिका र बागलुङको निसीखोला गाउँपालिकाको सङ्गम पातीहाल्ना अहिले सबैको मुखमा भुण्डिएको छ । दुई÷चार वर्षअघिसम्म पातीहाल्ना भनेको कहाँ हो भन्ने कुरा आसपासमै बसोवास गर्ने नागरिकलाई समेत थाहा थिएन । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग खुल्यो त्यसबेलादेखि पातीहाल्ना एकाएक चर्चामा आउन थाल्यो । जङ्गलैजङ्गल मात्र भएको उक्त ठाउँ अहिले यसरी पर्यटकको रोजाइमा पर्छ भन्ने कुरा त कसैले नि कल्पनासमेत नगरेको भूमे गाउँपालिका–१ लुकुमका बिनमाया मगरले जानकारी दिनुभयो ।

पातीहाल्नासम्मको यात्रा तय गरेर दैनिक गाडी र मोटरसाइकल लुकुम हुँदै जाने गरेको उहाँ बताउनुहुन्छ । विगत एक वर्षयता पातीहाल्नामा जाने पर्यटकको सङ्ख्या बढेको सिस्ने गाउँपालिका–६ का मनबहादुर बिसीले जानकारी दिनुभयो । पहिले त यस ठाउँको नामसमेत थाहा नभएको जनाउँदै उहाँले केही वर्षयता मध्यपहाडी लोकमार्ग खुलेपछि मात्र यात्राको क्रममा पातीहाल्नाको मनोरम दृश्यसँग साक्षात्कार गर्न पाएको बताउनुभयो । “जति पटक म पातीहाल्नामा पुगेँ, कहिल्यै पनि आन्तरिक पर्यटकको कमी भएको पाइनँ”, उहाँले भन्नुभयो, “प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पातीहाल्नाले मानिसलाई आकर्षण गरिरहेको छ ।” यसलाई यहाँका सम्बन्धित निकायले थप व्यवस्थापन गर्न सके पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्न सकिने उहाँको भनाइ छ । सिस्ने–६ कै प्रकाश कार्कीले पातीहाल्ना क्षेत्रलाई स्थानीय तहले व्यवस्थितरूपमा लैजान सके आम्दानीको स्रोत बढ्ने र केही मानिसलाई रोजागारी दिन पनि सकिने जानकारी दिनुभयो ।

अन्य समयमा आन्तरिक पर्यटकको सङ्ख्या कहिल्यै शून्य नहुने उक्त ठाउँमा अहिले दैनिक दुई÷तीन हजारको हारहारीमा पर्यटक पुग्ने गरेका छन् । अहिले हिउँ पर्ने समय भएकाले हिउँ हेर्नकै लागि त्यहाँ मानिसको घुइँचो लाग्ने गरेको छ । शनिबारको दिनमा त पाँच÷सात हजारको सङ्ख्यामा मानिस पातीहाल्ना पुग्ने गरेको होटल व्यवसायी बर्त घर्तीेले जानकारी दिनुभयो ।

त्यस ठाउँमा मानिसको चहलपहल बढ्न थालेदेखि घर्तीका दुई दाजुभाइले दुई होटल स्थापना गरी सञ्चालनमा ल्याउनुभएको छ । दुईवटा होटलले मात्र त्यहाँ पुग्ने पर्यटकको माग र आवश्यकता धान्न मुस्किल परिरहेको उहाँले बताउनुभयो । रुकुम (पूर्व)को माथिल्लो क्षेत्रमा हिमपात हुने गर्छ । तल्लो क्षेत्रमा हिउँ पर्दैन । रोल्पा, बागलुङलगायतका अन्य जिल्लाका बस्तीमा पनि हिउँ पर्दैन । त्यसैले गर्दा यो सयम हिउँ हेर्ने र खेल्ने, फोटो खिच्नेको छ्यापछ्याप्ती पाखैभरि देख्न सकिने रोल्पाका विमलराज डाँगीले बताउनुभयो ।

उहाँले पनि आफूहरु हिउँ खेल्नकै लागि रोल्पाबाट पातीहाल्ना पुगेको बताउनुहुन्छ । अहिले पातीहाल्नामा रुकुम (पूर्व), रोल्पा, बागलुङका विभिन्न ठाउँका साथै गुल्मी, पर्वत, पोखरा, रुकुम (पश्चिम) लगायतका ठाउँबाट आउने गरेको होटल व्यवसायी घर्तीले बताउनुभयो । मानिस पातीहाल्नामा पुगेपछि तिलाचन दह नपुगी फर्कँदैनन् । पातीहाल्नाबाट एक घण्टाको उकालो चढेर तिलाचन दह पुग्ने गर्दछन् । जुन ठाउँ रुकुम (पूर्व), रोल्पा र बागलुङको सिमाना हो ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण उक्त ठाउँमा व्यवस्थापनको पाटो फितलो हँुदा पर्यटकले दुःख पाउने गुनासो गरेका छन् । एक÷दुई दिन उतै बस्ने गरी जान चाहेमा बास बस्ने ठाउँसम्म नभएको कास्कीको पोखराबाट हिउँ खेल्न पुग्नुभएकी नम्रता रानाभाटले गुनासो गर्नुभयो । “पोखराबाट बिहान हिँडेपछि दिउँसो अबेरमात्र पातीहाल्नामा पुगिन्छ”, रानाभाटले भन्नुभयो, “त्यसपछि यहाँ घुम्नु कि फर्कने सुरसार गर्नु ।” टाढाबाट पुगेका पर्यटकलाई बसाइको व्यवस्थापन गर्न सके यहाँको आम्दानी पनि बढ्ने र पर्यटकले पनि आनन्द लिन सक्ने उहाँको भनाइ छ । उक्त ठाउँमा कुनै प्रकारको फोनले पनि काम गर्दैन । त्यसले गर्दा पनि समस्या खेप्नुपरेको पर्यटकले जनाएका छन् ।

अहिले रुकुमकोटबाट बागलुङ हुँदै पोखरा, काठमाडाँै जाने र काठमाडाँैबाट रुकुम आउने जोसुकै मानिस पातिहाल्नामा पुगेर ओर्लिने र त्यहाँको मनोरम वातावरणमा रमाउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि भूमे गाउँपालिकाले पातीहाल्नालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको छ ।

अहिले बागलुङसँग सीमा विवाद कायम रहेको बताउँदै गाउँपालिकाले पर्यटन क्षेत्र विकासका लागि साझा सहमतिको बाटो खोजिरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभएको छ । “बागलुङसँग सीमा विवाद कायमै भएकाले तत्कालै पातीहाल्नामा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्न सकेका छैनाँै”, अध्यक्ष बुढाले भन्नुभयो, “हामीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरी नीतिगत र प्राविधिक दुईवटा प्रतिवेदन तयार पार्दैछौँ ।” प्रतिवेदन तयार भएपछि सिमानालाई साझा ढङ्गले प्रयोग गर्ने गरी सीमा विवाद देखिएको बागलुङको निसीखोला गाउँपालिकासँगै अन्य गाउँपालिकासँग सहमतिको प्रयास गरिरहेको अध्यक्ष बुढाको भनाइ छ ।

कसैको सिङ कसैको भूगोल समेट्ने गरी साझा सहमतिको प्रतिवेदन तयार पारिरहेको गाउँपालिकाले रुकुम (पूर्व)कै पुथाउत्तरगङ्गा गाउँपालिका, रोल्पाको सुनछहरी र थवाङ गाउँपालिका, बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकासँग साझा सहमतिका लागि अनौपचारिक छलफल चलाइरहेको अध्यक्ष बुढाले बताउनुभयो ।

पातीहाल्नाबाट उत्तरतिरको भागमा माथि चढेपछि त्यहाँबाट पुथा हिमाल, पश्चिम धवलागिरिको मनोरम दृश्यसँगै ढोरपाटन शिकार आरक्ष क्षेत्र पनि देख्न सकिन्छ । त्यसैले रोल्पा, बागलुङ र रुकुम (पूर्व)का दुई÷दुईवटा स्थानीय तहलाई सहमतिमा ल्याएर तयार पारिएका दुई प्रतिवेदन अन्तरपालिका विकास सम्मेलनमार्फत पारित गर्ने जनाइएको छ ।

उहाँका अनुसार यसरी छ स्थानीय तहको सहमति भयो भने सबैको सहकार्यमा पातीहाल्नामा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्ने र आन्तरिक पर्यटकका साथै बाह्य पर्यटक पनि भित्रिने छन् ।

यसबाट भएको आम्दानी छ स्थानीय तहको सहमतिमा बनेको कार्यविधिमा उल्लेख सहमतिअनुसार बाँडफाँट गरिने गाउँपालिकाले जनाएको छ । अहिले नीतिगत र प्राविधिक प्रतिवेदन तयारको काम अन्तिम चरणमा पुगेको छ ।

Comments Box