टेलिमेडिसिनबाट पाउन थाले महाबुवासीले स्वास्थ्य सेवा



दुल्लू, २८ माघ (रासस) महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन्।

कर्णाली  प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन्। बालरोग विशेषज्ञ डा नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेको गाउँपालिका अध्यक्ष जङगबहादुर शाहीले बताउनुभयो।

गाउँपालिकामा १० शयया अस्पताल सञ्चालनका लागि दरखास्त आह्वान गर्दासम्म चिकित्सकको निवदेन नपर्दा अस्पताल सञ्चालन हुने नहुने अन्योलमा थियो। नागरिक स्वास्थ्य सेवाबाट वञ्चित थिए। स्वास्थ्य सेवा पँहुच नभएका नागरिकका लागि सो सेवा शुरु गरिएको विशेषज्ञ केसीले जानकारी दिनुभयो। महाबुका जनतालाई स्वास्थ्य समस्या भएको बेला स्वास्थ्यचौकी गैँडाबाजबाट प्रदेश अस्पताल सुर्खेतमा भिडियो कुराकानीमार्फत बिरामी सिधैँ सम्बन्धित रोग विशेषज्ञसँग स्वास्थ्य समस्या राख्नेछन् र डाक्टरको सल्लाह बमोजिम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपचार गर्छन्।

उहाँले थप्नुभयो “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो। गाउँपालिकाको तर्फबाट जुनसुकै पहल गर्न हामी तयार छौँ, टेलिमेडिसिनका लागि आवश्यक उपकरण र इन्टरनेट सेवालाई थप प्रभावकारी बनाइ सहज स्वास्थ्य उपचार उपलब्ध गराइने छ।”

यो पनि पढ्नुहोस्: https://tilichonews.com/%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%a8-%e0%a4%85%e0%a4%b8/

Comments Box