– रामबहादुर थापा
बागलुङ, २८ माघ (रासस) ः कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उहाँ कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुनुहुन्छ ।
गलकोट नगरपालिका–९ मल्म, छिसका ४९ वर्षीय खरेलले गरेको कृषि कर्म रहरलाग्दो छ । सात वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि बाख्रापालनमा लाग्नुभएका खरेल अहिले मौरीपालन र कागती खेतीमा रमाइरहनुभएको छ ।
उहाँकोमा ३२ घार सेरेना जातका मौरी छन् भने ५०० बोट कागती । कागतीका १०० बोटले फल दिन थालेका छन् । मह पनि काढ्ने बेला हुँदैछ । खरेलले तरुल, टिमुर र बेसारको पनि व्यावसायिक खेती गर्दै आउनुभएको छ । “१०० झाल तरुल र १०० बोट टिमुर पनि छ”, उहाँले भन्नुभयो ।
दुई वर्षअघिसम्म व्यावसायिक बाख्रापालन गर्नुभएका खरेलले आमा बिरामी भएर घरमा बढी समय दिनुपर्ने भएपछि त्यसलाई छाडेर कृषितिर लागेको सुनाउनुभयो । “बाख्रापालनबाट पनि राम्रै भइरहेको थियो, अहिले मौरीपालन र कागती खेतीमा हात हालेको छु”, उहाँले भन्नुभयो । नयाँ व्यवसायमा झण्डै रु सात लाख लगानी भएको खेरलले बताउनुभयो ।
उहाँले ‘गलकोट कृषि तथा पशुपक्षी उत्पादन फार्म’ दर्ता गरेर व्यवसाय अगाडि बढाउनुभएको छ । सेवानिवृत्त जीवनलाई उद्यममा लगाउने सोचका साथ कृषिलाई रोजेको खरेलको भनाइ छ । “परम्परागत खेतीले मात्र केही हुँदैन, कृषिको व्यावसायिक उत्पादनतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले नयाँ पुस्तालाई कृषि र पशुपालनमार्फत गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि आफूले दिन चाहेको उल्लेख गर्नुभयो । उत्पादनमा जोडिनुअघि खरेलले २० वर्षसम्म छिमेकी गाउँ रिघाको सरस्वती प्राथमिक विद्यालयमा अध्यापन गर्नुभएको थियो । पढाइमा स्नातक खरेलमा कृषिबाटै आत्मनिर्भर बन्ने अठोट छ ।
उहाँसँग निकट भविष्यमै व्यावसायिक भैँसीपालन थाल्ने योजना छ, जसका लागि गोठ निर्माणको कामसमेत अगाडि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले उत्पादनको बजारीकरणमा पनि कुनै समस्या छैन । पारिलो ठाउँ, उब्जाउ जमिन र उपयुक्त हावापानीका कारण छिसगाउँमा कृषि उत्पादनको राम्रो सम्भावना छ ।
प्रकृतिले नठगे र कुनै बाधा नपरे खरेलले यो वर्षदेखि मह, कागती, तुरुललगायत कृषि फसल बेच्न थाल्नुहुनेछ । उहाँको कृषि व्यवसायमा पत्नी सीताको दरिलो साथ छ । सात सन्तानमा कान्छा छोराबाहेक सबैको बिहेबारी भइसकेको खरेलले सुनाउनुभयो । “परिवार धान्न समस्या छैन, दुःख गरे सफल भइन्छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।
पत्रकारिताको पाटोमा खरेल
कृषि व्यवसाय सँगसँगै पत्रकारिता पनि अँगाल्नुभएका खरेल गलकोट पत्रकार समाजको अध्यक्षसमेत हुनुहुन्छ । उहाँ सामुदायिक रेडियो गलकोट एफएम र गलकोटपत्र साप्ताहिकमा संवाददाताको रूपमा क्रियाशील हुनुहुन्छ ।
खरेलले गाउँठाउँका घटना र विषयलाई सञ्चारमाध्यममार्फत सम्प्रेण गरी जिम्मेवार पत्रकारको भूमिका निर्वाह गरिरहनुभएको छ । “कृषि त मेरो मूल पेशा नै भइहाल्यो त्यससँगै पत्रकारितालाई पनि अगाडि बढाएको छु”, उहाँले भन्नुभयो ।
ग्रामीण भेगमा बसेर दुवै क्षेत्रमा क्रियाशील हुँदा समाजले सम्मानको दृष्टिले हेर्ने गरेको खरेलको अनुभव छ । गाउँका घटना, विकास निर्माणका योजना र सार्वजनिक कार्यक्रमबारे समाचार दिँदा आफूलाई सन्तोष मिल्ने गरेको उहाँले सुनाउनुभयो ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका साधारण सदस्यसमेत रहनुभएका खरेल र उहाँका परिवारजनले हालै आफ्ना दिवङ्गत बुबा टीकाराम खरेलको स्मृति र ९५ वर्षीया आमा धनकलाको सम्मानमा “टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’समेत स्थापना गरेका छन् ।
शाखामा स्थापित रु एक लाखको पुरस्कार कोषबाट जिल्लामा सक्रिय एक जना पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने भएको छ । पत्रकारिता क्षेत्रमा लागेका नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले परिवारका तर्फबाट पुरस्कार स्थापना गरिएको खरेलले बताउनुभयो ।