पाँच महिनामा बाह्र हजार विद्युतीय सवारी भित्रिए

३७ वटा विद्युतीय बस, ७८ वटा विद्युतीय माइक्रो बस, पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन पनि १० थान



पुस ११ गते । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । 

 

सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत विद्युतीय सवारीसाधनमा सरकारले कर छुट उपलब्ध पनि गराएकाले यो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको हो । नेपालमा सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल छन् ।

 

पेट्रोलियम सवारीसाधन आयातमा गरिएको निषेध र विद्युतीय सवारी प्रवद्र्धनका लागि दिइएको विभिन्न खाले कर छुटका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सो परिमाणका विभिन्न विद्युतीय सवारीसाधन नेपाल आयात भएको देखिएको छ । 

 

विद्युतीय सवारीमा सबैभन्दा धेरै दुईपाङ्ग्रेकै आयात उच्च देखिन्छ । ५४ करोड ८४ लाख रुपियाँको चार हजार ४८३ थान बाइक र स्कुटर आयात भएका छन् । विद्युतीय मोटरजडित दुई हजार ४९० थान साइकल पनि यो अवधिमा आयात भएको देखिन्छ । 

 

आयातको प्रवृत्ति हेर्दा साना सार्वजनिक यातायात तथा ढुवानी प्रयोजनमा प्रयोग हुने तीनपाङ्ग्रेको पनि उल्लेख्य आयात भएको देखिन्छ । यस्ता सवारीसाधन तीन हजार ८२७ थान आयात भएका छन् । यीमध्ये ३४८ वटा नेपालमै एसेम्बल गर्ने गरी आयात भएको छ । बजारमा धेरै चासो हुने विद्युतीय कार तथा जिप भने एक हजार ३५३ थान आयात भएको देखिन्छ ।

 

सरकारले आर्थिक ऐनमार्फत कर छुट दिएकाले एक सय किलोवाटभन्दा कम क्षमताका मात्रै यस्ता साधन एक हजार ३२० थान छन् । एक सयदेखि दुई सय किलोवाट क्षमताका ३० थान कार आयात भएका छन् । त्योभन्दा माथिका तीन थान मात्रै आयात भएका छन् । कार, जिप तथा भ्यान आयातमा तीन अर्ब ८३ करोड रुपियाँ खर्च भएको छ ।

 

भन्सार विभागको तथ्याङ्कअनुसार मङ्सिरसम्ममा ठूला ३७ वटा विद्युतीय बस आयात भएका छन् भने ७८ वटा विद्युतीय माइक्रो बस पनि आयात भएका छन् । ३७ ठूला बसको भन्सार मूल्याङ्कन ४५ करोड ६७ लाख रुपियाँ मूल्याङ्कन भएको छ भने ७८ माइक्रो बसको मूल्याङ्कन १८ करोड ८९ लाख रुपियाँ गरिएको छ । यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन पनि १० थान आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ ।


२६ माघ २०७७, सोमबार

विद्युतीय सवारीसाधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै

नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको छ ।

 

ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिन्छ । केही महिना पहिले ठेक्का सम्झौता भएकामा खरीद गरेर ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

 

यस वर्ष चैत/वैशाखसम्ममा उपकरण ल्याउने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “कोभिडको कारण आउन अलि समय लाग्ने भएकाले हामी पनि लचिलो बनेका छौँ ।” चालू आवभित्र खरीद गरेपछि आगामी आवमा त्यसलाई सञ्चालन गर्ने लक्ष्य लिइएको छ । अहिले सरकारले जाँच पास र ‘रोड ओपनियन टेस्ट’ अनिवार्य गरिए पनि परीक्षण मान्छेले आँखाले हेरेर(म्यानुअल) नै हुँदै आएको छ । आगामी दिनमा उपकरणको प्रयोग गरी सवारी साधन सडकमा गुड्नका लागि उपयुक्त होइन भनी जाँच हुने बताइएको छ । मान्छेले हेरेर गरिने परीक्षण भरपर्दाे नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको प्रमुख पौडेलले बताउनुभयो ।

 

उहाँका अनुसार भन्सारबाट आएका विद्युतीय गाडी पहिले बाटोमा चलाउन मिल्ने भनी केन्द्रले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुनेगर्छन् । अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौँ उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । सवारी साधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरीद गर्न लागिएको उहाँले बताउनुभयो ।

 

उपकरणले इञ्जिनको शक्ति, कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रिने विद्युतीय वा पेट्रोलियम दुवैबाट चल्ने सवारी साधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ । उहाँले भन्नुभयो, “हामीले विभागसँग सल्लाह गरेर खरीद प्रक्रिया अघि बढाएका छौँ ।”

Comments Box