“हामी महिला घरायसी काममा व्यस्त हुन्छौँ, बाहिरी काममा खासै जादैनौँ, श्रीमान्ले बाहिरी काम र कडा परिश्रम हुने काम गर्नुपर्ने हुन्छ, उहाँले बन्ध्याकरण गर्दा भविष्यमा कमजोरी हुन्छ, त्यसैले मैले नै बन्ध्याकरण गरेकी हुँ।”
मोहन पौडेल/ रासस
परासी-नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को दक्षिणी क्षेत्रका पुरुषले परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि अनिच्छा देखाएका छन्। स्वास्थ्य कार्यालय परासीले जिल्लामा सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा महिला मात्र देखिएका छन्।
यही माघ ५ गतेदेखि जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बन्ध्याकरण शिविरमा अहिलेसम्म ४०० जनाले सेवा लिएकामा सबै महिला मात्रै रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले राससलाई जानकारी दिनुभयो। जिल्लाको दक्षिणी क्षेत्रअन्तर्गतका सुस्ताको नर्सही स्वास्थ्यचौकी, प्रतापपुरको प्रतापुर स्वास्थ्यचौकी र जनगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, सरावलको भुजहवा स्वास्थ्यचौकी र पाल्हीनन्दन गाउँपालिकाको हरपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पुरुष नआएको उहाँले बताउनुभयो।
“शिविरमा महिला र पुरुष दुबै आउनुपर्ने हो तर महिला मात्र आउनुभएको छ, यो विगतदेखिकै प्रचलन रहेछ, सजिलोको हिसाबले त महिलाभन्दा पुरुषको बन्ध्याकरण गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो।
पाल्हीनन्दन–३ प्रसियाकी लक्ष्मिना हरिजनले परिवार नियोजनका अन्य साधनभन्दा बन्ध्याकरण भरपर्दाे भएकाले बन्ध्याकरण गर्न आएको बताउनुभयो। तीस वर्षीय हरिजनका दुई छोरी र दुई छोरा छन्। सन्तानको रहर पूरा भएकाले विदेशमा रहनुभएका श्रीमान्सँग सल्लाह गरेर आफूले बन्ध्याकरण गरेको उहाँले बताउनुभयो।
प्रसियाकै गीतादेवी हरिजनले भने श्रीमान् कमाउनका लागि बाहिर हिँड्नुपर्ने र भविष्यमा भारी किसिमका काम गर्न नसक्ने भएकाले आफूले बन्ध्याकरण गरेको बताउनुहुन्छ। “हामी महिला घरायसी काममा व्यस्त हुन्छौँ, बाहिरी काममा खासै जादैनौँ, श्रीमान्ले बाहिरी काम र कडा परिश्रम हुने काम गर्नुपर्ने हुन्छ, उहाँले बन्ध्याकरण गर्दा भविष्यमा कमजोरी हुन्छ, त्यसैले मैले नै बन्ध्याकरण गरेकी हुँ”, उहाँले भन्नुभयो। तीन सन्तानकी आमा गीतादेवीले तराईमा पुरुषले बन्ध्याकरण गर्न नमान्ने गरेको बताउनुहुन्छ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले कमजोरी हुने डरले पुरुषहरू स्थायी बन्ध्याकरण गर्न नमान्ने गरेको बताउनुहुन्छ। “तराईमा महिलाहरू घरायसी काममै व्यस्त हुने, बच्चाको स्याहारसुसार गर्नुपर्ने, दुःखपीडा पनि महिलाले नै धेरै भोग्ने भएकाले महिला बन्ध्याकरणमा आकर्षित भएका हुन्”, उहाँले भन्नुभयो।
स्थायी बन्ध्याकरण गर्दा कमजोरी हुने र भविष्यमा परिवारको जीविका चलाउन नै मुस्किल हुने हो की भन्ने भ्रम पुरुषमा रहेको देखिएको छ। विगतदेखि नै व्याप्त यो धारणा भने गलत रहेको स्वास्थ्य कार्यालय प्रमुख पोखरेल बताउनुहुन्छ। ‘‘पुरुषले बन्ध्याकरण गराउँदा कमजोर भइन्छ, नपु्ङ्शकता, यौन दुर्वलता हुन्छ भन्ने भ्रम मात्रै हो, यसमा सत्यता छैन्, यसका लागि व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ’’, उहाँले भन्नुभयो।
पुरुषले वास्ता नगर्ने र महिलाको बन्ध्याकरण जोखिमपूर्ण हुने गरे पनि स्थायी बन्ध्याकरणमा महिला नै अग्रसर हुने गरेको पाइन्छ। पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ। पुरुषहरूले बन्ध्याकरण गर्न नमान्ने गरेको चिकित्सक बताउँछन्।
स्वास्थ्य कार्यालयले यही माघ २८ गतेसम्म जिल्लाका सातै स्थानीय तहमा स्थायी बन्ध्याकरणको शिविर सञ्चालन हुने जनाएको छ। सन्तानको रहर पुगेका दम्पतीलाई बन्ध्याकरणमा सहभागी हुने कार्यालयले अनुरोध गरेको छ। बन्ध्याकरणमा ५०० जनाको लक्ष्य लिएकामा अहिले चार पालिकाबाट मात्रै ४०० बढीले सेवा लिएकाले लक्ष्यभन्दा बढीलाई सेवा दिनुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ। प्रदेश सरकारले प्रत्येक वर्ष नै नागरिकको घरदैलोमा पुगेर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ।
स्थायी बन्ध्याकरणको सेवा नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको छ। शिविर सञ्चालन गर्दा उत्साहजनक उपस्थिति हुने गरेपछि पृथ्वीचन्द्र अस्पताल परासीबाट पनि दैनिकरूपमा बन्ध्याकरणको सेवा सञ्चालनको तयारी गरिएको छ।
लुम्बिनी प्रदेश सरकारले एक जना चिकित्सकसहित तीन जनाको दरबन्दी हुने गरी परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा सञ्चालन गर्न अस्पताललाई बजेट पठाएको र अब छिट्टै सेवा सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख पोखरेलले जानकारी दिनुभयो। गर्भवती, पाठेघर खस्ने समस्या भएका, पहिले सघन शल्यक्रिया गरेका तथा ६० वर्ष माथिका महिलाले मिनील्याप गर्न नमिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ। बन्ध्याकरणमा आउने सेवाग्राहीलाई यातायातको सुविधाका साथै खाजा खर्चसमेत दिने गरिएको छ। स्थायी बन्ध्याकरणमा पुरुषलाई आकर्षित गर्न स्थानीय तहको अग्रसरतामा सचेतना सञ्चालन गर्न आवश्यक रहेको चिकित्सक बताउछन्।
–––