आफ्नै खर्चमा गैँडा गणना



दाताको भर पर्दा गत दुई वर्ष देखि रोकिएको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ।

नेपालमा गैँडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स्वीकृति भइसकेको छ। गैँडा गणना गर्न विभागले रु ८० लाख बजेट विनियोजन गरेको छ। विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको थियो।

त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन। गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो। सूचना अधिकारी आचार्यले यस वर्ष गणना गर्ने तयारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ। यद्यपि गणकको तालीमलगायत काम पुनःगर्नुपर्ने हुन्छ। जाडो महिना सकिएर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ।

गतवर्ष लामो समयसम्म वर्षा भएर घाँस नसुकेका कारण गणनामा ढिलाइ भएको थियो। त्यति नै बेला कोभिड –१९ का कारण लकडाउन भएपछि गणना स्थगित गरिएको थियो। सूचना अधिकारी आचार्यले फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुने बताउनुभयो। त्यसपछिको समय हावाहुरी, बढी गर्मीलगायतका कारण उपयुक्त मानिदैन।

नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन्। सन् २०१५ मा गैँडा गणना गरिएको थियो। चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो। अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने उहाँको भनाइ छ।  चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो। पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको छ।

Comments Box