मर्स्याङ्दी गाउँपालिकामा ३ महिने एडभान्स ब्युटिसियन तालिम सुरु: “सीप सिकौं, स्वरोजगार बनौं



बेसीशहर, लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले “सीप सिकौं, स्वरोजगार बनौं” भन्ने मूल नाराका साथ महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले ३ महिने एडभान्स ब्युटिसियन सीप विकास तालिमको शुभारम्भ गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत महिला सीप विकास कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो।

बेसीशहर–७ स्थित एन्जिला ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरमा आयोजित एक विशेष समारोहका बीच गाउँपालिकाका अध्यक्ष श्री अर्जुन गुरुङज्यूको अध्यक्षतामा तालिमको औपचारिक उद्घाटन गरिएको छ। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जुना माया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, र एन्जिला ब्युटिपार्लरकी प्रोप्राइटर श्री तिर्थ घले श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो।

तालिमको उद्घाटन गर्दै अध्यक्ष गुरुङले सीपमूलक तालिमहरूले युवा तथा महिलाहरूलाई परनिर्भरताबाट मुक्त गरी आत्मनिर्भर र व्यवसायमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले गाउँपालिकाले आगामी दिनमा पनि युवा लक्षित यस्ता उत्पादनमुखी र सीप विकासका कार्यक्रमहरूलाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्योग विकास शाखाका प्रमुख दिपेन्द्र भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा २० जना महिलाहरूको सहभागिता रहेको छ। आगामी ३ महिनासम्म चल्ने यस तालिममा सहभागीहरूलाई ब्युटिसियन सम्बन्धी आधुनिक र व्यावसायिक सीप प्रदान गरिनेछ, जसले उनीहरूलाई भविष्यमा आफ्नै स्वरोजगार सुरु गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

Comments Box