शैक्षिक परामर्श क्षेत्रको सुधारमा एक्यानको जोड, तिवारीको नेतृत्वमा बन्यो नयाँ टिम



काठमाडौँ: नेपालको शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी र व्यावसायिक बनाउने लक्ष्यका साथ सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) ले नयाँ नेतृत्व पाएको छ। संस्थाको तेस्रो साधारण सभाले किशोर तिवारीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्विरोध चयन गरेको हो।

साधारण सभाका क्रममा शैक्षिक परामर्श क्षेत्रका विद्यमान चुनौती, नीतिगत जटिलता र भविष्यका सम्भावनाबारे गहन छलफल भएको थियो। कार्यक्रममा बोल्दै सहभागीहरूले परामर्श क्षेत्रलाई मर्यादित बनाउन एक्यानले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

नयाँ कार्यसमितिमा मेघराज शाही र रमेश पाठक (उपाध्यक्ष), दामोदर फुयाल (महासचिव), मनिष कुमार बर्देवा (सचिव), मुकेश खतिवडा (कोषाध्यक्ष) र हिरानाथ महर्जन (सह–कोषाध्यक्ष) रहेका छन्। कार्यसमितिले आगामी दुई वर्षसम्म शैक्षिक परामर्श क्षेत्रमा नीतिगत सुधार र व्यावसायिक मापदण्ड कार्यान्वयनका लागि काम गर्ने जनाएको छ। १० जना केन्द्रीय सदस्यहरू समेत निर्विरोध निर्वाचित हुँदै नयाँ कार्यसमितिले पूर्णता पाएको छ।

Comments Box