दूरसञ्चार सेवाप्रदायक एनसेलले नेपालमा सेवा सुरु गरेको आज बुधबार २० वर्ष भएको छ। टेलिफोन महसुल अत्यन्तै महँगो बेलामा नेपालको दूरसञ्चार सेवामा एनसेलले एउटा क्रान्तिकारी भूमिका निर्वाह गरेको छ।
निजी क्षेत्रको लगानीमा स्थापना भएको एनसेल बहुराष्ट्रिय दूरसञ्चार सेवा प्रदान गर्ने कम्पनी हो । स्पाइस नेपाल कम्पनीमार्फत “मेरो मोबाइल” ब्रान्डमा सेवा सुरु गरेको कम्पनीमा युरोपको टेलियासोनेरा, मलेसियाको एजियटा समूहले लगानी गरेर त्यसबाट बाहिरिएका छन् । अहिले नेपाली मूलका सतीशलाल आचार्यको बहुमत लगानी रहेको एनसेलले स्थापनायता विभिन्न शीर्षकमा तीन खर्ब ६० अर्ब रुपियाँ कर बुझाइसकेको जनाएको छ । कुनै समय वार्षिक ६० अर्ब रुपियाँ नजिक आम्दानी गरेको एनसेलले १० हजारभन्दा बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिइरहेको कम्पनीले अहिले एक करोड ४० लाख जनालाई फोरजी सेवा उपलब्ध गराइरहेको छ ।
एनसेलको स्थापना सन २००४ मा भएको हो । कम्पनीले सन् २००५ मा सेवा प्रदान थालेको हो ।बीस वर्ष अगाडी नेपालमा “मेरो मोबाइल” का नाममा एनसेलले सेवा सुरु गर्दा कुल जनसंख्याको ६ प्रतिशत मात्रै मोवाइल फोन प्रयोग गर्थे । सरकारी लगानीको दूरसञ्चार कम्पनीको एकाधिकार ताडेर धनीमानीको नियन्त्रणमा रहेको दूरसञ्चार सेवालाई जनताको हातमा पुर्याउन महत्पुर्ण योगदान गरेको छ । एनसेल नेपालको दूरसञ्चार सेवाका आएको परिवर्तनको संवाहक नै हो । तर, अहिले मोबाइल सेवाको पहुँच शतप्रतिशत भन्दा बढी पुगेको छ ।
नेपाली प्रयोगकर्तालाई सहज रूपमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको दुई दशक पूरा भएको यस अवसरलाई एनसेल विशेष बनाउने तयारीमा थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एनसेललाई गहिरो चोट लागेको छ । आन्दोलनकारीका नाममा एक आक्रमणकारी समूहरुले कम्पनीको केन्द्रीय कार्यलय नै तोडफोड तथा आगजनी गरे । २० वर्ष पूरा हुने सँघारमै एनसेलले अहिलेसम्मकै सबैभन्दा ठुलो क्षति बेहार्नु परेको छ। यति क्षति हुँदाहुँदै पनि एनसेलले भनेको छ,’ “हामी अझै दृढ सङ्कल्प र सहनशीलताका साथ देश र जनताको सेवामा प्रतिबद्ध छौँ।”
एनसेलले आफ्ना सेवा सञ्चालनका लागि जीएसएम, एज, थ्रिजी/एचएसपीए प्लस र डीसी–एचएसडीपीए प्रविधि प्रयोग गरेको जनाएको छ । सन् २०१० मा थ्रिजी सेवा सुरु गरेर नेपाली उपभोक्ताहरूलाई उच्च गतिको डेटा र बिना बफरिङ भिडियो सामग्री हेर्ने सुविधा दियो । एनसेलले नेपाली जनताका लागि नवप्रवर्तन, लगानी र जीवनस्तर उकास्ने विभिन्न सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
सन् २०१७ मा फोरजी सेवा ल्याएर ग्राहकहरूलाई प्रविधिले ल्याएका अवसरहरूसँग जोड्न आधुनिक उच्च गतिको मोबाइल डेटामा पहुँच सुनिश्चित गरेको कम्पनीले जनाएको छ । एनसेलले विगत दुई दशकमा नेपाललाई इ–कमर्स, टेलिमेडिसिन, इन्टरनेट/मोबाइल बैंकिङ सेवा वा सूचना प्रविधिको क्षेत्रमा अगाडि बढाउन ठूलो भूमिका निर्वाह गरेको छ ।
