कर्ण थापाको गम्भीर प्रश्न: “एउटै विधान तीनपटक छापियो, छलछाम कसरी भयो?



काठमाडौं, साउन २ 

नेकपा एमाले पोलिटब्युरो सदस्य कर्ण थापाले पार्टीको कार्यकारी पदमा उमेर र कार्यकालको सिमाना हटाउने निर्णयप्रति गम्भीर प्रश्न उठाएका छन्। शुक्रबारदेखि सुरू भएको पोलिटब्युरो बैठकमा थापाले विधानको संस्करणहरूबारे गहिरो आशंका व्यक्त गर्दै एउटै विधान तीनपल्ट छापिएको दाबी गरे।

उनले भने, “एउटै विधान हो तर तीनपल्ट छापिएको छ। मैले अनअफिसियल्ली पाएको कुरा हो, तर यो सबैले अफिसियल्ली जान्न पाउनु पर्छ।”

पार्टीको विधि र संरचना कसरी गुपचुप ढंगले हेरफेर भयो भन्नेमा उनले प्रश्न उठाउँदै भने, “कम्युनिष्ट आन्दोलनका उपलब्धिहरू रातारात बदल्न मिल्दैन। यस्तो छलछामपूर्ण व्याख्या गरेर अघि बढ्न सकिँदैन।”

थापाका अनुसार दशौं महाधिवेशनअघि कात्तिक १ गते छापिएको विधान पारित भएको भनिएको थियो। तर, त्यसपछि मंसिर १०–१४ गतेसम्मको महाधिवेशनपछि पुस ५ गते एकै दिन दुई फरक विधान छापिएको उल्लेख गर्दै उनले कभर एउटै तर सामग्री फरक भएको तथ्य पेश गरे।

“यो प्रिन्ट मिस्टेक हो कि नियोजित?” भन्दै थापाले दस्तावेज आफूसँग रहेको तर त्यो सबै कार्यकर्ताले हेर्न पाउनु पर्ने बताए। “हामीलाई के थाहा कुन विधान लागु छ? तुलना गर्ने अधिकार सबैलाई हुनुपर्छ,” उनले जोड दिए।

थापाको प्रस्तुतिमा अध्यक्ष केपी शर्मा ओली केही छक्क परेझैँ देखिए। “हो र?” भन्ने ओलीको प्रतिक्रियामा थापाले “नपत्याए चेक गर्नुस्” भने। जवाफमा ओलीले भने, “यदि यथार्थ हो भने, यस्तो गर्ने व्यक्तिलाई कारबाही हुन्छ।”

Comments Box