मन्त्री भगवती न्यौपानेको प्रतिबद्धता: “संघीयता कार्यान्वयन र सुशासनमा कडाइ गर्छु

संघीय निजामती सेवा विधेयक २ महिनाभित्र राष्ट्रिय सभाबाट पारित गराउने प्रतिवद्धता



काठमाडौं, साउन २

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा नियुक्त भएपछि भगवती न्यौपानेले आफ्नो प्राथमिकता स्पष्ट गर्दै सचिवालयलाई प्रभावकारी र चुस्त बनाउने बताएकी छन्।

उनका अनुसार मन्त्रालय संघीयता कार्यान्वयनको केन्द्रबिन्दु भएकाले, प्रभावकारी शासन प्रणाली विकास र सुशासन सुनिश्चित गर्न आफू दृढ भएर लाग्नेछिन्। “मलाई कुनै लोभ छैन,” उनले भनिन्, “प्रधानमन्त्रीले दिएको जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ पूरा गर्छु।”

हालै घुस प्रकरणको अडियो सार्वजनिक भएपछि राजकुमार गुप्ताले राजीनामा दिएसँगै न्यौपानेलाई जिम्मेवारी दिइएको हो।

नेपाल प्रेससँग कुरा गर्दै उनले संघीय निजामती विधेयकलाई राष्ट्रिय सभाबाट छिटो पारित गराउने आफ्नो योजना सार्वजनिक गरेकी छन्। उनले भनिन्, “७२ घण्टे संशोधन दर्ता अवधि सकिएपछि विधेयक अब विधायन व्यवस्थापन समितिमा जान्छ। नियमअनुसार २ महिनाभित्र निष्कर्षमा पुर्‍याउने लक्ष्य छ।”

स्थानीय तहमा कायम रहेका निमित्त प्रमुखको व्यवस्थालाई पनि उनले प्राथमिकतामा राखेकी छन्। अहिले ७५३ स्थानीय तहमध्ये ११६ वटा स्थानीय तह निमित्त प्रमुखको भरमा सञ्चालनमा रहेको जानकारी दिँदै उनले ती सबैलाई नियमित नेतृत्वमा ल्याउने बताइन्।

“संघीयता कार्यान्वयनको जड नै स्थानीय तह हो,” उनले जोड दिइन्, “निमित्त प्रमुखको भरमा रहेका सबै स्थानीय तहमा नियमित व्यवस्था ल्याउनेछु।”

Comments Box