२ साउन, काठमाडौं
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलद्वारा सार्वजनिक गरिएको सामाजिक सञ्जालको स्टाटसप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले अझै छलफलको चरणमा रहेको विषयलाई निर्णय भइसकेजस्तो ढंगले प्रस्तुत गर्नु गलत भएको बताए।
“महासचिवको स्टाटस निर्णय होइन, छलफलकै विषय हो,” थापाले स्पष्ट पारे, “पदको मर्यादा कायम राख्नुपर्ने व्यक्ति स्वयंले सार्वजनिक रूपमा यति ठूलो भ्रम सिर्जना गर्नु अस्वीकार्य छ।”
उनले अध्यक्ष र महासचिवजस्ता जिम्मेवार पदमा रहेका व्यक्तिहरू कसैको पक्षमा नलाग्नुपर्ने र संस्थागत निर्णय प्रक्रिया नमानिकन गरिएको कुनै निर्णय जबजको मान्यताविपरीत हुने धारणा राखे।
“यदि निर्णय भइसकेको थियो भने आज फेरि छलफल किन भइरहेको छ?” उनले प्रतिप्रश्न गरे। “दुई–चार जना भेला भएर निर्णय गर्ने शैलीलाई हाम्रो पार्टी मान्यता दिन सक्दैन।”
यसअघि महासचिव पोखरेलले पार्टी विधान निर्माणको विषयमा स्पष्टता आएको दाबी गर्दै स्टाटस लेखेका थिए, जसलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सार्वजनिक रूपमा अस्वीकार गर्दै अझै विधि निर्माणको बहस आवश्यक रहेको बताएका छन्।
