कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो



काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएकाे छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएकाे हाे ।

 

उहाँले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएकाे हाे ।  आयोजक मानव सेवा फाउण्डेसनका अनुसार दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले आज आइतबार र भोली सोमबार गरेर अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्नुहुनेछ । दुई दिनको बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो ।

कथा बाचनका लागि नेपाल आएकी उहाँलाई गृह जिल्ला काभ्रेको पनौती नगरपालिकामा भव्य स्वागत र सम्मान गरिएको थियो । शनिबार काभ्रे सेवा समाज र पनौती नगरपालिकाले उहाँलाई पनौतीमा आयोजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन् । उहाँका लागि खटिएका आठ सुरक्षा गार्डको विषयलाई लिएर नेपालमा टिकाटिप्पणी भइरहेको छ ।

ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन (दुःख निवारण) शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँगसँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको फाउण्डेशनले जनाएको छ ।

Comments Box