सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ।
असार ८ गते काठमाडौँस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफ्नो भाषाका चलचित्र, साहित्य र सङ्गीतका गतिविधि बढाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामी सबैको भाषा नेपाली हो, तर हामी जनजातिको आफ्नो भाषा छ, त्यसलाई पनि अगाडि बढाउनु पर्छ। हामीले आफ्नो भाषा बोल्न छाडेकै कारण त्यो नयाँ पुस्तासम्म पुग्न सकेको छैन। अहिलेका नयाँ पुस्तालाई आफ्नो भाषा आउँदैन, संस्कृतिका बारेमा ज्ञान निकै कम छ। त्यसैले हामीले मातृभाषाको प्रयोग गरी चलचित्र, साहित्य र गीत सङ्गीत निर्माण गर्नुपर्छ।”
उहाँले गण्डकी प्रदेशमा गुरुङ भाषाका चलचित्र, गीतसङ्गीत र वृतचित्र निर्माणको क्रम बढेको उदाहरण दिनुभयो। अन्य भाषामा पनि चलचित्र र साहित्यका गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो।
“हाम्रो चलचित्र हेरेनन् भनेर गुनासो गर्ने छुट हामीलाई छैन। किनकि हामीले अन्य भाषाका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने काम गर्नुपर्छ। त्यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजार पनि पाउन सक्छ । हामीसँग रहेका कलाकार, निर्देशक र प्राविधिकलाई समेटेर अब्बल चलचित्र तयार गर्न सक्नुपर्दछ”, मन्त्री गुरुङले भन्नुभयो।
उहाँले राष्ट्रियसभामा पेस गरिएको ‘चलचित्र नीति’ छलफलको क्रममा रहेकाले त्यसमा आदिवासी जनजाति चलचित्र प्रवर्द्धन गर्न आवश्यक पर्ने पक्ष समेट्ने प्रतिबद्धता गर्नुभयो।
‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ यही असार ६ देखि सुरु भएको ‘पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव’ मा मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरूको दस्तावेजीकरण, संरक्षण, प्रवर्द्धन गरिएको आयोजक आदिवासी जनजाति चलचित्र महासङ्घले जनाएको छ।