सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्ने बताउनुभएको छ।
सामाजिक सुरक्षा कोषको सहकार्यमा नेपाल पत्रकार महासङ्घद्वारा असार ५ गते पोखरामा आयोजित सामाजिक सुरक्षा कोषमा बृहत् आबद्धतासम्बन्धी पत्रकारसँगको संवाद कार्यशालामा सञ्चारमन्त्री गुरूङले सञ्चार मन्त्रालय मातहतका संस्था र निकायमा क्रमिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्दै जाने उल्लेख गर्नुभयो।
“ठूला सञ्चार गृह सामाजिक सुरक्षा कोषमा आबद्ध भइरहेका छन्, क्रमशः सबै सञ्चार गृह र तिनमा कार्यरत पत्रकार तथा कर्मचारीलाई पनि कोषमा आबद्ध गर्नुपर्छ”, मन्त्री गुरूङले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउने विषयमा स्पष्ट उल्लेख छ, यसमा सबैको सकारात्मक बुझाइ र पहलको खाँचो छ।”
गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुरक्षाका लागि हरेक रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने उहाँको भनाइ थियो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले आमसञ्चार विधेयक मस्यौदाको काम भइरहेको जानकारी दिनुभयो। उक्त विधेयकले सञ्चारसम्बन्धी सम्पूर्ण विषयलाई व्यवस्थित गर्ने बताउनुभयो।
“आमसञ्चार प्राधिकरण, तालिम प्रतिष्ठानलगायत विषयलाई विधेयकले समेट्नेछ”, उहाँले भन्नुभयो, “मिडिया काउन्सिल विधेयक पनि छिट्टै पारित हुने प्रक्रियामा छ, सामाजिक सञ्जाल नियमनका लागि सरकारले कानुन ल्याउँदैछ।”