बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध, प्रहरीले सुझायो वैकल्पिक मार्ग



लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार बिहान एक सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

 

प्रहरीका अनुसार, केही दिनयताको अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ। यसैगरी, दुम्कीबास-दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।

 

सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनहरूलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न सूचित गरेको छ। पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरूलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ। त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ। पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनहरूले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ।

 

साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट-पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मधु नेपालद्वारा जारी विज्ञप्तिमा राजमार्ग पूर्ण रूपमा नखुलेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे तोकिएका वैकल्पिक मार्गहरू अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Comments Box