पोखरा, ।
स्याङ्जाको वालिङमा आँधीखोला नदी संरक्षणका लागि खटिएका व्यक्तिलाई कुट्ने एक जना पक्राउ परेका छन् । आँधीखोलाको विषयलाई लिएर मंगलबार वालिङ नगरपालिका ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं संरक्षण अभियन्ता दिनकर नेपाल र मेघ आलेमाथि आक्रमण भएको थियो ।
आक्रमणमा संलग्न वालिङ नगरपालिका ८ का २९ वर्षीय साजन पंगेनीलाई सोही दिन राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए । उनलाई मिर्दीबाट नियन्त्रण लिई ज्यान मार्ने उद्योगमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
पीडितले दिएको जानकारी अनुसार वालिङ नगरपालिका १० का वडाध्यक्ष सुनील खनाल र केहीले नेपाल र अर्का अभियन्ता मेघ आलेमाथि वडाध्यक्ष खनालले फलामको रडले आक्रमण गरेको आरोप लगाइएको छ । वडाध्यक्ष खनालले भने चरित्र हत्या र उत्तेजना फैलाएपछि सामान्य धकेलाधकेलमात्र भएको दाबी गरेका छन् ।
आँधीखोला बचाउँ अभियान अन्तर्गत वालिङ नगरपालिका ९ स्थित दरबारचोकमा आयोजित विरोध कार्यक्रम सकेर फर्कने क्रममा आफूहरूमाथि आक्रमण भएको पीडित दिनकर नेपालले बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष सुनील खनाल र अर्का एक व्यक्तिले बाटोमा रोकेर फलामको रडले प्रहार गरेको बताए ।
नेपालका अनुसार, आँधीखोलाको दोहनबारे सार्वजनिक रूपमा आवाज उठाएपछि कार्यक्रममै वडाध्यक्षले धम्की दिएका थिए । ॅफर्कंदै गर्दा बाटोमा रोकेर फलामको रडले हिर्काए । जनप्रतिनिधिबाटै ज्यानको जोखिम भयो,’ नेपालले भने । उनले घटनाबारे प्रहरीमा उजुरी दिएको जनाएका छन् ।
यता, वडाध्यक्ष खनालले भने दिनकर नेपालले घटनालाई अतिरञ्जित गरी सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन् । खनालले फेसबुकमार्फत् नदीजन्य सामग्री उत्खनन सम्बन्धित निकायको स्वीकृति र तोकिएको शुल्क तिरेर नै गरिएको दाबी गरेका छन् । उनका अनुसार, नेपालको नेतृत्वमा आएको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आफ्नो निजी स्काभेटर कब्जा गर्ने, ब्यानर राख्ने र नदी संरक्षणको नाममा आफूविरुद्ध हल्ला फैलाउने काम भएको थियो ।
खनालले आफू त्यहाँबाट हटेर सुरकौदीस्थित आफ्नो होटलमा बसिरहेका बेला नेपालको टोली पुनः मोटरसाइकलमा आएर गालीगलौज गर्दै बदनाम गर्न खोजेको बताए । ॅतीव्र बहसका क्रममा जब उनीहरूले हद पार गरे, तब दुवै पक्षबाट सामान्य बल प्रयोग भयो,’ खनालले भने, ॅयो घटना उनीहरूको चरित्रहत्या र उत्तेजनाको प्रत्यक्ष परिणाम हो ।’ उनले सामान्य बल प्रयोग हुनु अनुचित भए पनि परिस्थितिले त्यस्तो अवस्था सिर्जना गरेको बताएका छन् । दुवै पक्षले आ–आफ्नो दाबी प्रस्तुत गरेपछि प्रहरीले घटनाबारे अनुसन्धानअघि बढाएको छ ।
वालिङ नगरपालिकाले बुधबार विज्ञप्ति प्रकाशित गरी नियमअनुसार नै प्रक्रिया पुरा गरेर आँधिखोलाबाट ढुंगा गिट्टी वालुवा निकालिएको बताएको छ । मेयर कृष्ण खाँडको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न चरणका प्रक्रिया पुरा गरी खोलाबाट नदिजन्य सामान निकाल्ने दिएको उल्लेख छ ।