काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी र सुनकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुन सक्ने र त्यसले नदीमा पानीको सतह खतरनाक रूपमा बढ्न सक्ने सूचनाका आधारमा विभागले यस्तो अपिल गरेको हो।
विभागका अनुसार, चीनको प्रहरी कार्यालयबाट जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक हुँदै प्राप्त सूचनामा “असार ३ गतेदेखि ७ गते सम्म भोटेकोशी नदीको मुहान क्षेत्र तिब्बतमा अत्याधिक वर्षा हुन सक्ने” उल्लेख छ। यसले भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव बढ्न गई बाढीको जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदीतटीय क्षेत्रहरू उच्च जोखिममा रहेको विभागले जनाएको छ।
चीनबाट प्राप्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागले आफ्नोतर्फको विश्लेषण पनि सार्वजनिक गरेको छ। भू-उपग्रह र मौसम प्रारूपहरूको तथ्याङ्क अनुसार हाल सिन्धुपाल्चोक र त्यसको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर रहेको देखिएको छ। जसका कारण तत्काल हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना रहेको विभागको भनाइ छ।
यद्यपि, मनसुन सक्रिय रहेको समयमा मौसम र बाढीको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै विभागले अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। विभागले सर्वसाधारणलाई आधिकारिक निकायबाट जारी हुने अद्यावधिक सूचनामा ध्यान दिन र कुनै पनि सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हार्दिक अपिल गरेको छ।