ब्याकयार्ड अल्ट्रा उपाधि विजयलाई



पोखरा ।

दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन् । रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन् । विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७.५५ किलोमिटर दौड पूरा गरेका थिए । शनिबार बिहान ८ बजे सुरु भएको दौड आइतबार बिहान ९ बजेसम्म सञ्चालन भएको थियो । फिट नेपालको आयोजनामा पोखराको भलाममा सम्पन्न भएको यस प्रतिस्पर्धामा विभिन्न देशका ५२ जना धावकले सहभागिता जनाएको कुरा संयोजक सुवासचन्द्र बस्नेतले बताए ।

 

आयोजक तथा दौडका निर्देशक जितेश प्रधानले ब्याकयार्ड अल्ट्रा एक अनौठो र चुनौतीपूर्ण दौड भएको बताए । उनले बताएअनुसार, सहभागीहरूले प्रत्येक घण्टामा ६.७०५ किलोमिटर दूरी तय गर्नुपर्छ । यो दूरी एक राउन्डको रूपमा लिइन्छ र प्रत्येक राउन्ड एक घण्टाभित्र सम्पन्न गर्न अनिवार्य हुन्छ । दौडको मुख्य विशेषता भनेको यो कुनै निश्चित दूरी वा समयसम्म मात्र सीमित हुँदैन । दौड तबसम्म चलिरहन्छ, जबसम्म अन्तिम एक जना धावक मात्र बाँकी रहन्छ । त्यस्तै, नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा १२ लूप अर्थात् १२ राउन्ड पार गर्नुपर्छ ।

प्रतियोगितामा मिलन कुलुङले पनि २४ लूप पूरा गरेका छन् । उनी पनि अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा प्रतियोगितामा सहभागी हुने कुरा आयोजकले बताए । प्रतियोगितामा महिला धावक पदमकुमारी सुनुवारले १२ लूप पूरा गरी २० हजार रुपैयाँ प्राप्त गरेकी छन् । यस प्रतियोगितामा महिला र पुरुष एउटै समूहमा रहेको हुँदा, सुनुवारलाई प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरिएको आयोजक पक्षका ईश्वर गुरुङले बताए ।

यस किसिमको दौडमा सहभागीहरूले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जङ्गली जनावर र चराचुरुङ्गीको आवाज सुन्न पाउने कुरा फिट नेपालका राजीव श्रेष्ठले बताए । सन् २०१० मा अमेरिकामा ग्रे सेन्ट्रेलले सुरु गरेको यो प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्ने गरी विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए ।

ब्याकयार्ड अल्ट्रा नेपालको पहिलो संस्करण गत माघ महिनामा भक्तपुरमा आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा अर्जुन कुलुङ राईले २१ लूप पूरा गर्दै उपाधि जितेका थिए ।

Comments Box