मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार



काठमाडौँ, २२ पुसः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ ।

 

कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गर्नुभयो ।

 

कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ”, उहाँले भन्नुभयो ।

 

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

 

 

“अस्पतालमा शय्याको सङ्ख्या बढाए पनि बिरामीको चाप कम भएको छैन”, उहाँले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप कम गर्न प्रत्येक प्रदेशमा एक सयदेखि तीन सय शय्यासम्मको बाल अस्पताल निर्माण गर्नुपर्छ ।

 

” अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताल चिकित्सा क्षेत्रको राष्ट्रिय सम्पदाका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उपचार सेवामा विविधिकरण र विशिष्टीकरण गरेको छ । हाल १४ वर्ष मुनिका उपचार गर्ने बालबालिकाको सङ्ख्या २८ प्रतिशत छ । यो समूहलाई उपचार सेवा दिएर ठूलो सेवा गरेको छ ।

 

” उहाँले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताउनुभयो । अस्पतालले वार्षिकोत्सवको अवसरमा वायु गुणस्तर मापन उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा पङ्कज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

“अस्पतालमा अहिले पनि शल्यक्रियाका लागि पालो पर्खिनुपर्ने अवस्था छ । सघन उपचार कक्ष पनि थप गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अस्पतालको वृहत गुरुयोजना अनुरुप विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भइसकेको छ ।

 

” उहाँले थप स्रोत जुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कतार दूतावाससँग पहल गरिरहेको जानकारी दिनुभयो । देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रुपमा रहेको कान्ति बाल विसं २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शय्या छन् । अस्पतालले आर्थिक वर्ष २०८०÷८१ म एक लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।

Comments Box