जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिँदैन : पृथ्वीसुब्बा गुरुङ



लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।

 

नेकपा एमाले लमजुङले शनिबार लमजुङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको अनुसन्धान नरोकिने प्रष्ट  पार्नुभयो । गुरुङले जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने कार्यान्वयनमा कसैको दबाबले नखोकिने प्रष्ट पार्नुभयो ।

संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ‘माननीय सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ, यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन्, रवि लामिछाने पनि सोही क्रममा पक्राउ परेका हुन, कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ गुरुङले भन्नुभयो ।

सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै  गुरुङले रोक्न कोसिस गर्नेको अभियान सफल नहुने बताउनुभयो । दोषी प्रमाणित भए सजाय भोग्न तयार हुन उहाँले आग्रह गर्नुभयो । ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनकाे दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ गुरुङले भन्नुभयो ।

उहाँले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात् गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको प्रष्ट मान्यता पनि सुनाउनु भएको छ । मन्त्री गुरुङले सडकमा वितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिएको हो भन्ने प्रष्ट पनि गर्नुभयो ।

 

Comments Box