नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौता, ४० मेगावाट निर्यात हुने



काठमाडाैं । नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएकाे छ ।

 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो ।

 

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रेजुल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गर्नुभयाे ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा साे सम्झौतामा हस्ताक्षर भएको हो ।

 

भारतको प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्ने भएकाले सम्झौतामा भारत पनि समावेश भएकाे हाे ।

 

याेसँगै नेपालबाट तत्कालका लागि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने बाटो औपचारिक रूपमा खुलेको छ । सम्झाैता अनुसार नेपालले बंगलादेशमा ५ वर्षसम्म बिजुली निर्यात गर्नेछ । नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले बिजुली बेच्नेछ । बंगलादेशमा बिजुली निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ह्विलिङ चार्ज भने बंगलादेशले तिर्नेछ ।

 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै बंगलादेशमा विद्युत् निर्यात गरिनेछ । कूल ४ सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर– भेडामारा चार सय केभी ) बिजुली बंगलादेश पुग्नेछ ।

Comments Box