माओवादीको स्थायी समिति बैठक : चारवटा एजेण्डा प्रस्तुत



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभएको छ ।

 

 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा चारवटा एजेण्डा प्रस्तुत भएका र भोलीबाट तिनै एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको पनि जानकारी दिए । ‘अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो , एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति, हाम्रो कार्यभार र चारमा विविध थियो, आज ती एजेण्डाहरु मध्य अध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो’, सापकोटाले भन्नुभयो ।

बैठकले विमान दुर्घटनामा ज्यान गुमाउनेको क्षतिपूर्तिको उचित व्यवस्था गर्न माग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै चितवनको भरतपुरमा भएको बस दुर्घटनामा ज्यान गुमाएकालाई क्षतिपूर्ति र घाइतेको उपचारको माग बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परेकाका गाँस, बासको व्यवस्था, उपचार र क्षतिपूर्तिका माग गर्ने पनि बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । उहाँहरूको दैनिक जीवनमा परेको समस्या बारे सरकाले शीघ्र ध्यान दिनु पर्ने बैठकले माग गरेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले बङ्गलादेशको घटनाले नेपालमा पार्ने प्रभाव र त्यसबाट सिक्नु पर्ने पाठको बारेमा पनि ब्रिफिङ गर्नुभएको उहाँले बताउनुभयो । त्यस्तै अघिल्लो सरकार भ्रष्टाचार नियन्त्रणको काममा अवरोध गरेको, विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख माथि सरकारले आक्षेप लगाउने काम गरेको प्रति पनि बैठकले खबरदारी गरेको सापकोटाले जानकारी दिनुभयो । अर्को बैठक पुनः भोलि बिहान ११ बजे बस्ने उहाँले बताउनुभयो ।

 

Comments Box